कोरोना संक्रमितको मृत्यु भएपछि भेरी अस्पतालमा मृतकका आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

डिसी नेपाल
१३ जेठ २०७८ २३:१०

काठमाडौं। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। अस्पतालका डाक्टर बद्री चपाइँमा अनुसार विहीबार साँझ एक संक्रमितको मृत्यु भएपछि उनका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।

उनका अनुसार मृतकका आफन्तले अस्पतालको कोभिड वार्डमा ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि हातपात गरेका छन्। आक्रोशित आफन्तले हातपात गर्न थालेपछि एक नर्सले झ्यालबाट हाम्फालेरकोसमेत डा. चपाइँले डिसी नेपाललाई फोनमा जानकारी दिए।

कुटपिटबाट एकजना नर्सको घाँटीमा र अर्को नर्सको खुट्टमा चोट लागेको छ। डा. चपाइँले स्वास्थ्यकर्मीलाई चोटपटक लाग्नुभन्दा पनि स्वास्थ्यकर्मीमाथि भएको हातहात दुःखदायी भएको बताए। उनका अनुसार दाङको तुलसीपुरका एक्जना ५२ वर्षीय संक्रमितको विहीबार साँझ उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले यो हातपात तथा तोडफोड गरेका हुन्। तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् भने शौचालयमा पनि क्षति भएको छ।

डा. चपाइँले भने, ‘१० दिनदेखि विरामीको उपचार भइरहेको थियो। पछिल्लो समय विरामीको स्वास्थ्य अवस्था बिग्रेको हामीले आफन्तलाई जानकारी दिएका थियौं। मृत्यु पीडादायी हुन्छ नै तर पनि उहाँहरु आक्रोशित हुनुपर्ने कुनै कारण थिएन।’

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *