एउटै खेलमा एकै दिन एउटै बलरको २ ह्याट्रिक ! कसरी भयो यस्तो चमत्कार ?

डिसी नेपाल
१४ जेठ २०७८ ११:२२

काठमाडौं। क्रिकेटमा ह्याट्रिक लिनु हरेक बलरको सपना हुन्छ । तर ३ बलमा लगातार ३ विकेट लिनु निकै कठिन कुरा हो । ब्याट्सम्यानले बीचमा एक बल मात्रै रोकिदिए पनि ह्याट्रिक हुँदैन त्यसैले ह्याट्रिक लिनु निकै कठिन मानिन्छ । टेस्ट क्रिकेटमा अहिलेसम्म ४५ ह्याट्रिक बनेका छन् । तर, इतिहासमा एक जना यस्ता बलर पनि थिए जसले टेस्ट क्रिकेटमा एउटै खेलमा एकै दिन २ पटकसम्म ह्याट्रिक गरे ।

यो चमत्कार आजभन्दा ठिक १०९ वर्ष पहिले आजकै दिन अर्थात मे २८ का दिन भएको थियो । यति धेरै वर्ष बितिसक्दा पनि आजसम्म अरु कुनै बलरले एकै दिन एउटै खेलमा दुई ह्याट्रिक गर्न सकेका छैनन् । यो इतिहासकै एकमात्र दोहोरो ह्याट्रिक हो । यो इतिहास अस्ट्रेलियाका लेग स्पिनर जिमी म्याथ्युजले बनाएका थिए । १९१२ को मे २८ का दिन दक्षिण अफ्रिकाविरुद्ध भएको यो खेलमा म्याथ्युजको यो ह्याट्रिकमा अर्को चमत्कार यो पनि थियो कि उनले यी दुई ह्याट्रिक गर्नको लागि कुनै फिल्डरको सहयोग लिएका थिएनन् ।

इङल्याण्डमा आयोजित त्रिकोणीय टेस्ट सिरिजमा ओल्ड ट्राफोर्ड मैदानमा सिरिजको पहिलो खेल २७ मेमा सुरु भएको थियो । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४४८ रन बनायो । जवाफी ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले दोस्रो दिनसम्म २६५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । यही अवस्थामा बलिङ गर्न आएका जिमी म्याथ्युजले पहिले रोलेन्ड ब्युमोन्टलाई बोल्ड गरे, त्यसपछि लगातार सिड पेगलर र टमी वार्डलाई एलबीडब्लु आउट गरेर पहिलो ह्याट्रिक पूरा गरे । दक्षिण अफ्रिका अलआउट भयो ।

दक्षिण अफ्रिका पहिलो इनिङमा २६५ समेटिएपछि फलो अनमा पर्यो र अस्ट्रेलियाले उनलाई पुनः ब्याटिङको निम्तो दियो । त्यही दिन नै दक्षिण अफ्रिकाले दोस्रो इनिङ सुरु गर्यो । चार्ल्स क्याल्वेले ४ विकेट लिएपछि दक्षिण अफ्रिकाले ७० रन जोड्दा ६ विकेट गइसकेको थियो । त्यसपछि जिमी म्याथ्युज बलिङ गर्न आए । उनले पहिले हर्बी टेलरलाई बोल्ड गरे त्यसपछि लगातार रेगे श्वार्ज र टमी वाटर्डलाई आफ्नो बलमा आफैंले क्याच गरेर आउट गरेर एकै दिन एकै खेलमा दोसे ह्याट्रिक पूरा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *