राम्रो समालोचना नहुँदा महिला साहित्यकार पछाडि परेका छन् : डा. रजनी ढकाल
नेपाली साहित्यमा डा. रजनी ढकालको नाम अग्रस्थानमा आउँछ। नेपाली निबन्ध, कविता र उपन्यासमा कलम चलाएकी उनी ५० को दशकबाट नेपाली साहित्यमा औपचारिक प्रवेश गरेकी थिइन्।
स्याङ्जामा जन्मेकी उनी त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक पनि हुन्। नेपाली विषयमा विद्यावारिधि गरेकी उनले साहित्यको सामालोचना गर्दै आएकी छन्।
लयको खोजीमा र हत्केलामा असार उमारेर (निवन्ध संग्रह) रंगहरुमा जिन्दगी (कविता संग्रह), हृदयका गीतहरु (गीत संग्रह) र पत्रैपत्र उपन्यासको सहलेखन गरेकी छिन्। यस्तै समकालीन नेपाली कथामा बैचारिकतालगायत करिव १ दर्जन जति समालोचक कृतिहरु बजारमा छन्।
नेपाली साहित्यमा समालोचकले न्यायपूर्ण समालोचना नगरेका कारण महिला साहित्यकारहरु पछाडि परेको उनको तर्क छ। पारिजातपछि आएका नेपाली महिला साहित्यकारहरुलाई न्यायपूर्ण समालोचना नगरिएको उनको राय छ। उनै साहित्यकार ढकालसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको संपादित अंशः
यहाँ त अध्यापन पनि गर्नु हुन्छ र सिर्जना पनि गर्नु हुन्छ, महामारीमा दिनहरु कसरी बितिरहेका छन् ?
महामारी भए पनि प्राध्यापन गर्ने कुरा रोकिएको छैन। गत वर्ष पनि हामीले अनलाइनबाट नै अध्यापन गराउँदै आएका थियौं। यो वर्ष पनि अनलाइनबाट नै कक्षा लिइरहेका छौं। अनलाइनबाट कक्षा लिँदा अझ बढी मेहेनत गर्नु परेको अवस्था पनि छ। किन भने अनलाइनबाट विद्यार्थीलाई सामग्री पुर्याउँदा भौतिकरुपमा जस्तो सजिलो हुँदैन।
उनीहरुलाई पढाउने सामानलाई टाइप गर्ने, त्यसलाई व्यवस्थित गर्ने, उनीहरुलाई पठाउने, यस्तो कामहरुले पनि व्यस्त बनाइरहन्छ। यस्तो बेलामा पनि विद्यार्थीसँग भेटिरहने, पढाइरहने भएको हुनाले बाहिर जेसुकै भए पनि त्यो कुरालाई विर्सिएर आनन्दित भएको पनि पाएको छु मैले।
यो प्रविधिले गरिदिएको सजिलो पनि हो। हुन त सिकाई उति प्रभावकारी नहोला, विद्यार्थीहरु चुपचाप लागेर बसिदिने होलान्, म्यूट गरेर पनि बस्ने होलान्, शिक्षकहरु नै बढी क्रियाशील हुनु पर्ने अवस्था हुन्छ। किन भने, मेरो छोरा पनि अनलाइनबाट नै पढिरहेको हुन्छ, उ पनि त्यति धेरै सक्रिय भएको मैले पाउँदिन। यसमा शिक्षकहरु नै बढी सक्रिय भइरहनु परेको हुन्छ।
सिर्जनाको कुरा गर्दा यो वर्ष खासै सिर्जना गरेकी छैन। गएको वर्षमा एउटा अनुसन्धानात्मक काम गरेकी थिएँ। ‘समकालीन नेपाली कथामा बैचारिकता’ भन्ने किताब पनि बजारमा आएको छ। त्यो नेपाल प्रज्ञा प्रतिष्ठानबाट आएको थियो। अहिले पनि केही पाइपलाइनमा भएका अनुसन्धानात्मक कामहरुलाई पूरा गर्दै बसिरहेकी छु।
यस्तै केही समालोचनात्मक लेखहरु लेख्ने योजना पनि थियो। ति काम पनि यो समय हो, मैले यही फुर्सदको समयमा गर्नुपर्ने भनेर गरिरहेकी छु। कोही साथी भाइहरुले लौन कविता निबन्ध चाहियो भन्नु भएको अवस्थामा बाहेक त्यतातिर त्यति धेरै मन गइरहेको छैन। त्यसबाट बचेको समय, आमा, पत्नी, पारिवारिक जिम्मेवारीको व्यक्ति भएका कारण त्यहाँबाट पनि समय व्यतित भइरहेकै हुन्छ।
महामारीलाई दुःखद अवस्था पनि भन्न सकिन्छ, यस्तो दुःखद अवस्थामा कस्तो खालको साहित्य सिर्जना हुन्छ ?
साहित्य सिर्जना हामीले खुसीमा मात्र गर्छौ भन्ने होइन। साहित्य भनेको समाजसँग भइरहेका क्रियाकलापको चेतनशील संवाद हो। त्यो चेतनशील संवाद गर्दा हाम्रो वरिपरि के भइरहेको छ हेरौँन भन्ने पनि हुन्छ। महामारीले जनता मरिरहेका छन्।
नेताहरु कुर्चिका लागि लडिरहेका छन्। विश्वमा शक्तिशाली राष्ट्रहरुबीच पनि द्वन्द्व चलिरहेको छ। एक अर्का देशलाई आक्रमण गरिरहेका छन्। विश्वको अवस्था हेर्न त एउटा चेतनशील मन जतिबेला पनि सक्रिय नै हुन्छ नि।
सिर्जनामा लिंगभेद हुँदैन। तर, हामी पुरुष वा महिला मानव हो। समाजले भेद गरेका कारण लैङ्गिकता छुटिएको हो। समाजले नै त यस्तो वर्गको, यो गर्न हुन्छ, यो गर्न हुँदैन भनेर तोकिदिएपछि महिला श्रष्टाहरु कम मूल्याङ्कनमा पर्दै गए। सबै भन्दा पहिलो कुरा शिक्षा हो। चेतना हो। चेतनाको विकास सुरुवातिमै पुरुष सरह हुँदो हो त महिला पनि कम हुने थिएनन्।
तर, लेख्ने र नलेख्ने कुरा फरक हो। सबै कुरा अनुभव र अनुभूति गर्दै गइन्छ। कहिल्यै लेखिन्छ कहिल्यै अनुभव लिएर मात्र छोडिन्छ। ती अनुभवहरुलाई सम्हालेर राख्दै राख्दै पछि पनि त्यसको अभिव्यक्ति पनि हुनसक्छ।
यस्तो बेला लेखिएको साहित्यमा सुखको भन्दा दुःखको अनुभूति बढी देखिन्छ होला ?
सुखका अनुभूति नहुने पनि हैनन्। प्रेमील भावका लेखनहरु पनि हुन्छन यस्तो बेलामा। तर, विश्व नै पीडादायी अवस्थाबाट अगाडि बढिरहेका बेला हरेक लेखकले लेख्ने कुरामा त्यो पीडा आउनु स्वभाविक पनि हुन सक्छ।
धेरै जसो पीडाका गीत सुनिन्छन् भन्ने पनि छ। त्यस्तो संवेदना जितिने भएकाले त्यसतर्फ पनि लेखक बढी केन्द्रित भएको पाइन्छ।
महामारीले साहित्य बजारलाई सिकाएको नयाँ कुरा के हो ?
बजारलाई केही कुरा सिकायो होला। तर, लेखनलाई त यसले अलगै नयाँ के सिकाएको होला र? तर, अनलाइन सपिङदेखि लिएर धेरै कामहरु अहिले प्रविधिको माध्यामबाट नै भइरहेका छन्। पढाइको कुरा गरिसक्यौं। त्यस्तै साहित्यिक कार्यक्रम पनि भर्चुअलबाट भइरहेका हुन्छन्।
प्रविधिको प्रयोग गरेर आफ्ना लेख रचनाहरु प्रकाशित र प्रसारित गरिरहेको पाइन्छ। आफैंले लेखेका गीत कविता वा अन्य रचनालाई पनि आफ्नै आवाजमा रेकर्ड गरेर सामाजिक सञ्जालका माध्यामबाट प्रशारण गर्न सजिलो भएको छ।
पछिल्लो समय त एउटा व्यक्तिले एउटा प्रविधि जानेको अवस्थामा कोही पात्र नै नचाहिने जस्तो भएको छ। प्रविधिको जति पनि विकास भएको थियो। त्यसको प्रयोग महामारीले धेरै गर्न बाध्य पार्यो। त्यसैले उपलब्धि भने पनि नयाँ कुरा भने पनि प्रविधिको अधिकतम प्रयोग यो महामारीमा भएको पाइन्छ।
यहाँको साहित्य यात्रा कहिलेदेखि शुरु भयो ?
पचासको दशकमा पद्मकन्या क्याम्पसमा डिग्री पढ्दादेखि औपचारिक साहित्यमा प्रवेश गरेकी हुँ। त्यहाँको वातावरणले पनि साहित्य लेख्न उत्प्रेरित गरिरहेको हुन्थ्यो। हामीलाई पढाउने गुरुहरुले पनि साहित्य लेखनका लागि प्रोत्साहित गरिहनु हुन्थ्यो। उहाँहरुको प्रेरणाले नै लेख्न थालियो।
साहित्य प्रतिको प्रेम फेरि पहिलेदेखि नै हो। हामी सरकारी विद्यालयमा पढेका विद्यार्थीहरु अन्य भाषाभन्दा नेपाली भाषामा बढी रुचि राख्ने, साहित्यिक कृतिहरु पनि बढी पढ्ने, कविताहरु पनि वाचन गर्ने, त्यो परिवेशले पनि रुचि जगाइरहेको थियो।
कामको शिलशिलामा बुबा बाहिर बस्नु भएपछि घरका कुरालाई शिलशिलाबद्ध तरिकाले मिलाएर लेख्ने गरिन्थ्यो। त्यसरी लेख्दा पनि लेखनलाई केही प्रभाव पाथ्र्यो जस्तो अहिले लाग्छ। मेरो लेखनको शुरुआत त्यहीँबाट भयो होला झैं लाग्छ।
लेखनका लागि पारिवारिक वातावरण कस्तो चाहिन्छ ?
जब म लेख्छु भनेर आफूलाई तयार बनाएँ। लेख्नु पर्छ, साहित्य लेख्दा राम्रो हुन्छ र आफू पनि नेपाली साहित्यको विद्यार्थी भएको नाताले केही गरौँ न त त्यो गर्यो भने अरुको पढिन्छ। पढ्ने बानी पनि बस्छ। त्यो गर्यो भने एउटा समूहमा पनि पुगिन्छ। त्यो समूहले साहित्य लेखनको लागि प्रेरणा दिन्छ, त्यो एउटा लोभको लागि पनि गर्न थालियो होला।
पछि त्यो आफ्नो पेशा नै साहित्य पठनपाठनको बन्यो। त्यो भएपछि परिवारबाट असहयोग हुने कुरा भएन। मुख्य कुरा पारिवारिक जिम्मेवारीमा भएपछि एउटा आमा, एउटा पत्नी बनेर घरको कुरा सकेर बचेको समयमा मात्र महिलाहरुले साहित्य सिर्जना गर्न सक्छन् जस्तो लाग्छ।
त्यो समय आफूले आफ्नो निद्रा कटाएर, आफ्नो आराम कटाएर हुन्छ कि कसरी हुन्छ त्यसरी गर्ने हो। एकै पटक लामो सयम आउँदैन। कसरी हुन्छ त्यो टुक्राटुक्रा कटाएर मिलाएर समय बनाउने हो।
एउटा समालोचकको आँखाबाट नेपाली साहित्यको अवस्था हेर्न खोज्दा कहाँ पाइन्छ ?
राम्रो छ। राम्रोसँग अगाडि आइरहेको छ। बरु समालोचनाले नै त्यसलाई पक्रिन सकेको छैनकी जस्तो लाग्छ। एकदमै उर्वर तरिकाले अग्रज पुस्ताले पनि लेखिरहनु भएको छ र अनुज पुस्ता पनि आउनु भएको छ।
अनुज पुस्ता अगाडि आउनुको कारण पनि प्रविधिको माध्यामबाट सिक्न पाइरहनु भएको छ। हामीले वास्तवमा कविताको आदर्श कहिल्यै सिक्न पाएनौं। राम्रा गुरु परेको स्कुलमा त सिकाइयो होला तर, मैले त्यो पाइनँ। कविता के हो भन्ने कुरा त कलेजतिर आएपछिमात्र धेरै बुझियो। जे जति गरियो, त्यो आफ्नै रुचीलेमात्र गरियो।
अहिलेको पुस्तालाई त्यो छैन। जे जति कुरा चाहिन्छ अनलाइनमा पाइन्छ। तालिम जस्तै पनि सञ्चालन हुन्छन्। कतिपय राम्रा राम्रा कृतिहरु अडियोमा सुन्न पनि पाइन्छ। जसले गर्दाखेरी पछिल्लो समय साहित्य लेखनतर्फ युवा पुस्ताको पनि एकदमै राम्रो सहभागिता देखिन्छ। संख्यात्मक मात्र नभएर गुणात्मक पनि छ। त्यो नेपाली साहित्यको लागि राम्रो पाटो हो।
साहित्यमा महिलाहरुको अवस्था के छ ?
नेपाली साहित्यको वर्तमान अवस्थामा महिलाको अवस्था एकदमै राम्रो छ। सकारात्म छ र आशावादी छौं हामीहरु। विगतदेखि नै महिलाहरु एकदमै पछाडि परेका होइनन्। जो लेख्नु हुथ्यो शसक्त नै हुनु हुन्थ्यो।
पारिजातलाई पाठ्यक्रममा राखियो, पठनपाठनमा पारियो अरु परेनन् भन्ने गुनासो र आलोचना मैले पनि गर्ने गरेकी छु र त्यो हो पनि। पारिजातलाई दिएको स्थान जति छ त्यो दिनु पर्ने हो।
र त्यो भन्दापछि पनि राम्रा साहित्यकारहरु आएका छन्। प्रेमा शाहको पनि पठनपाठनमा आउँछ। त्यसपछिका शक्तिशाली साहित्यकारमा वानीरा गिरी पनि हुनुहुन्थ्यो भर्खर बितेर जानु भयो।
उहाँको बारेमा खासै समालोचना हुन सकेन। २० को दशकदेखि पनि एकदमै धेरै सिर्जना गर्दै आउनु भएको छ, उहाँहरुको पनि कमै अध्ययन भएको छ।
मूलधारको समालोचनामा उहाँहरुलाई नामका रुपमा मात्र ल्याइनु, खासै कृतिहरुको मूल्याङ्कन नहुनु पछिको कारण पनि पृतिसत्तात्म सोच नै हो। महिलाहरुले के लेख्छन् र? यिनीहरुको नाम मात्र टिपिदिए पनि हुन्छ भन्ने भावना नै हो।
अलि गहन अध्ययनको कमी पनि हो। जसरी पुरुष श्रष्टाको बारेमा अध्ययन गरिन्छ, उहाँहरुको कृतिमाथि जति समालोचना भएको पाइन्छ त्यति महिला श्रष्टाको पुस्तकमा समालोचना भएको पाइँदैन।
साहित्यमा पनि महिला र पुरुष हुन्छ त?
सिर्जनामा लिंगभेद हुँदैन। तर, हामी पुरुष वा महिला मानव हो। समाजले भेद गरेका कारण लैङ्गिकता छुटिएको हो। समाजले नै त यस्तो वर्गको, यो गर्न हुन्छ, यो गर्न हुँदैन भनेर तोकिदिएपछि महिला श्रष्टाहरु कम मूल्याङ्कनमा पर्दै गए। सबै भन्दा पहिलो कुरा शिक्षा हो। चेतना हो।
चेतनाको विकास सुरुवातिमै पुरुष सरह हुँदो हो त महिला पनि कम हुने थिएनन्। नेपाली साहित्यको माध्यामिक काल तिर नै महिला श्रष्टाहरु देखा परिसकेका थिए। शिक्षा र चेतनाको कमीका कारण महिला श्रष्टा फैलिन पाएनन्। अर्को कारण जतिले लेख्नु भयो उहाँहरुको सही मूल्याङ्कन पनि भएन। समालोचनाको पनि कमी हो।
साहित्यमा भाषाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भनिन्छ। अहिले नेपाली भाषाको अवस्था के छ ?
एउटा राम्रो साहित्य पाठकसम्म पुर्याउनका लागि भाषाको सम्पादन हुन एकदमै जरुरी छ। अहिले प्रविधिले गर्दा पनि भाषामा समस्या आएको छ। तुरुन्तै लेख्यो, सामाजिक सञ्जालमा राख्यो, मान्छेले पढ्छन्। यस्तो त हुँदो रहेछ अब यस्तै गरौँ न त भनेर, त्यसैलाई नै नजिर बनाएर गरिरहेका हुन्छ।
तर अलि सचेत लेखकले त्यसो हुँदैन, त्यसको सम्पादन हुन जरुरी छ। हरेक श्रष्टाले आफ्ना अनुभव, अनुभूतिहरु शुद्धभाषामा लेख्नु सुन्दर हुन्छ। भाषिक क्षमता हुँदाहुँदै पनि सबैले त्यही कुरालाई शुद्धरुपमा प्रस्तुत गरिदिँदैन।
तिनै कुराहरुलाई अनावश्यक गरिएको बयानले पाठक त्यहाँबाट डिस्ट्राक हुन्छ। पाठकहरु त्यहाँबाट छुट्छ। पाठकहरुलाई कायम गरिरहनका लागि भाषाहरु एकदमै सलल… बगेको हुनु आवश्यक हुनुपर्छ। त्यो कमी नेपाली साहित्यमा कमी देखिन्छ।
नेपाली साहित्यको वर्तमान अवस्थामा महिलाको अवस्था एकदमै राम्रो छ। सकारात्म छ र आशावादी छौं हामीहरु। विगतदेखि नै महिलाहरु एकदमै पछाडि परेका होइनन्। जो लेख्नु हुथ्यो शसक्त नै हुनु हुन्थ्यो। पारिजातलाई पाठ्यक्रममा राखियो, पठनपाठनमा पारियो अरु परेनन् भन्ने गुनासो र आलोचना मैले पनि गर्ने गरेकी छु र त्यो हो पनि।
विश्व साहित्यमा प्रकाशकले सम्पादन मण्डल नै राखेको हुन्छ। तर, केही ठाँउमा पुनर्लेखन गर्नु पर्यो भनेपछि लेखकले नै नमान्ने, अग्रसरता नदेखनउने गरेको कुरा प्रकाशकहरुले सुनाउने गरेका छन्।
यो प्रकाशकले दुःख दिन्छ म त्यसकोमा जान्न भन्ने गरेको पाइन्छ। लेखकले पनि ध्यान नदिएको र प्रकाशकहरुले पनि सम्पादन मण्डल राख्न नसकेको अवस्था छ। प्रकाशकहरुले पनि सम्पादनका लागि जनशक्ति र बजेट छुट्याउन आवश्यक छ।
यहाँले बहुविधामा कमल चलाएको देखिन्छ, साहित्यको सबै भन्दा सजिलो विधा कुन लाग्छ ?
अफ्ठेरो प्रश्न हो। कुनै पनि विधा सजिलो हुँदैन। त्यसमा अभ्यास गर्दै जाँदो खेरी त्यसलाई आफूले अपनाउने कुरा मात्र हो। गीत लेख्दा लायात्मले तान्ने भएपछि मलाई खुब रमाइलो लाग्थ्यो। हिँड्दा हिँड्दै, यात्रा गर्दा गर्दै, छोटो समयमै पनि लयहरु जुर्ने, आफ्नो मनमा गुनगुनाइरहने।
कविता लेख्न पनि छोटो छ तर, असाध्यै बौद्धिक पाठकका लागि लेखिने भएकाले, विम्बात्मकताको बढी प्रयोग गर्नुपर्ने हुनाले त्यो त्यति सजिलो कुरा पनि होइन्। वास्तवमा हरेक विधामा आ–आफ्नै चुनौती छन्।
त्यो विधाको मूल्यलाई परख गरेर, त्यसलाई बुझेर राम्रा सिर्जना गर्नको लागि कुनै पनि विधा सजिलो छैन। तर, पनि त्यसमा अभ्यास हुँदै जाने हो भने सजिलो हुँदै जान्छ। कुनै पनि विधामा सिद्धि पाउनका लागि त्यसमा निरन्तरको लगाव, अभ्यास र चिन्तन जरुरी छ।
साहित्य बजारको लागि यो प्रश्न गरेँ, बाँच्नका लागि कुन विधामा कलम चलाउनु पर्छ ?
बजारकै लागि हो भने त आख्यान नै हो। आख्यानमा पनि उपन्यास बढ्दो क्रममा छ। कथा र उपन्यास पाठकहरुले पनि अलि बढी मन पराउने गरेको पाइन्छ। आख्यानले अत्याधिक बौद्धिक पाठकको अपेक्षा गर्दैन। उपन्यास लेख्यो भने कतिपय श्रष्टालाई आय आर्जन गर्न सजिलो हुन सक्छ।
पुरस्कारमा पनि ऐँचोपैँचो गरेका हुन्छन् भन्ने पनि सुनिन्छ नि ?
एउटा बैचारिकता राख्नेसँग अर्को बैचारिकता राख्ने खासै नमिल्ने। अनि आ–आफ्नो गुटभित्र त्यो हुन्छ भन्ने सुनेको छु। म खासै लागेकी छैन। साहित्यमा पुरस्कारको किनबेच राम्रो कुरा हैन।
राम्रै श्रष्ठाले पनि पुरस्कारका लागि पहल गर्यो रे भन्ने सुनिन्छ। यस्तो राम्रो श्रष्टाले किन यसो गरेको होला भन्ने लाग्छ। समाजको वातावरणले पनि त्यो गराएको पाइन्छ। कतिपय अवस्थामा श्रष्टाले पाएको पुरस्कार लायक छ भन्दाभन्दै पनि बजारमा हल्ला सुनिन्छन्।
तर, कतिपय पुरस्कारहरु यस्ता छन् जसका लागि निवेदन दिनु पर्छ। पुरस्कारका लागि निवेदन दिनुपर्ने सिस्टम नहुनु पर्ने। जस्तो मदन पुरस्कारमा पनि त्यो देखिन्छ।
त्यस्ता निकायहरुले आफैंले कृति चयन गरेर स्वतन्त्र निर्णय गर्न सकेको अवस्थामा राम्रो हुन्थ्यो जस्तो लाग्छ। कतिपय श्रष्टाहरु निवेदन दिन चाहाँदैनन्। यो अवस्था पनि छ। राम्रो श्रष्टाले पुरस्कार पाउनका लागि लेख्दैन, उसलाई प्रोत्साहन गर्नका लागि पुरस्कार दिइन्छ।
एउटा असल साहित्यकार बन्नका लागि के के कुरामा ध्यान दिनुपर्छ?
कुनै पनि विषयमा पोख्त हुनका लागि निरन्तर साधना हुनु प-यो। साधनका लागि सबै भन्दा पहिलो कुरा पढ्ने, निरन्तर अभ्यास गर्ने, लेख्ने समाजको अवस्था, विश्वको अवस्था, विश्व साहित्यको अवस्था के छ कसरी अगाडि बढीरहेको छ, त्यसमाथि सचेत हुने र आफ्ना वरिपरिका मान्छेहरुका संवेदना बुझ्ने, समानुभूति गर्नसक्ने क्षमता बढाउने, सामाजका मान्छेहरुको कुरा के छ त्यसलाई सुक्ष्म निरीक्षण गरेर तिनका संवेदनालाई आफ्नो कृतिमा ल्याउने गर्नु पर्छभन्ने लाग्छ।
Facebook Comment