नेपाली दूतावास जर्मनीले मनायो गणतन्त्र दिवस
जर्मनी। जर्मनीस्थित नेपाली दूतावासले १४ औं गणतन्त्र दिवस भर्चुअल रूपमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरी मनाएको छ । दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत राम काजी खड्काले नेपालको इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनहरू मध्ये २०६२र६३ को आन्दोलन समेतबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले नेपाली जनतालाई वास्तविक रूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको बताए। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षां प्राप्तिमा गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास र सुदृढीकरणको ठूलो महत्व रहने उनको भनाइ थियो ।
कोरोना महामारीले देश थलिएको बेला नेपालका लागि आवश्यक सहयोग जुटाउन आफूहरु घनिभुत रुपमा लागि परेको पनि कार्यक्रमका क्रममा उनले बताए। जर्मन सरकार, गैर सरकारी संस्था, अन्य विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा पनि जर्मनीको तर्फबाट नेपालका लागि सहयोग भएको र अझै हुने क्रम जारी रहेको उनले जानकारी गराए।
जर्मनी सहित चेक रिपब्लिक, पोल्याण्ड, हंगेरी, रोमानीया, सर्विया, स्लोभाकिया लगायतका देशका नेपाली र गैर आवासीय नेपाली संघ तथा विभिन्न संघसस्थाले यो विपदको बेला देशका लागि स्वास्थ्य सामग्रीदेखि आर्थिक एवं अन्य विविध क्षेत्रमा गरेको रचनात्मक सहयोगका लागि खड्काले धन्यवाद समेत दिए। साथै आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर अघि बढ्नेमा दूतावास विश्वस्त रहेको र आफूहरुको तर्फबाट पनि सहकार्य एवं समन्वयमा कुनै कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। अब स्वास्थ्य सामाग्रीसँगै नेपालका लागि खोपको लागि पनि कूटनीति सहयोगको प्रयास भैरहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी अवैतनिक महावाणिज्य दूत एवं एनआरएन अभियन्ता रामप्रताप थापाले जनताले रोजेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवन पद्धतिका रुपमा समेत स्थापित र संस्थागत हुदै जानुपर्नेमा जोड दिए। उनले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा आफुहरु लागिपरेको र सहयोगको लागि कुनै कसर बाँकी नराखि अघि बढ्ने वचन दिए।
कार्यक्रममा बोल्दै एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले देश विपदमा रहेका बेला आफूहरु चुप लागेर बस्न कदापी नसक्ने भन्दै आवश्यक सहयोग जारी राखेको र राजदूतावाससँग सहकार्य गरेर अघि बढिरहेको जानकारी दिए । अहिलेसम्म एनआरएन जर्मनीले करिब ४० लाख रकम उठाएको र सो रकमले चीनबाट ३० ओटा अक्सिजन कन्सट्रेटर किनेर आइसीसी मार्फत नेपालमा सहयोग गरेको बताए ।
कार्यक्रममा नेपाली समाज जर्मनीका शिव अधिकारीले सहकार्य मार्फत सफलता प्राप्त गर्न सकिने बताउँदै दूतावास र जर्मनीका संघ सस्थाहरुसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । विश्व कोरोना महामारीको चपेटामा परिरहदा पहिलो लहर देखिनै नेपालमा भोकले मान्छे नमरुन भनेर नेपालमा सहयोग जारी राखेको बताउँदै उनले जर्मनीमा रहेका चारओटा संस्थाहरुसँग सहकार्य गरेर करिब १ करोड नेपाली रुपैंया संकलन गरेको बताए । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सहकार्य गर्दा बषौंसम्म टिकाउन आवश्यक रहेको र नेपालका विभिन्न संस्थासँग सहकार्य गरेर जनता भोकले मर्नु नपरोस् भनेर आफुहरु लागि परेको बताए ।
कार्यक्रममा चेक रिपब्लिकका एनआरएनए अध्यक्ष डा चिरन्जीवी खड्का, पोल्याण्डका एनआरएनए संस्थापक अध्यक्ष एवं आइसीसी सदस्य बोधराज सुवेदी, जर्मनीबाट एनआरएन अभियन्ताहरु दिल गुरुगं, उषा शर्मा, एनआरएन उपाध्यक्षद्धय राधा सिग्देल र निनम्मा राई, नेपाल परिवार संस्थाका अध्यक्ष सचित श्रेष्ठ, नेपाली एकता मंच यूकेका अध्यक्ष भक्त गुरुगं, रोमानियाबाट वाणिज्य दुत नवराज पोखरेल, हंगेरीबाट एनआरएन अध्यक्ष श्रेष्ठ, स्लोभाकियाबाट एनआरएन अध्यक्ष जय शिवाकोटी, नेपाली विद्यार्थी संघ जर्मनीका अध्यक्ष अनन्त लामिछाने लगायतका पत्रकार त्यसैगरी दुतावास कर्मचारीहरुको उपस्थिती रहेको थियो । उपस्थित सबैले शुभकामना आदानप्रदान गर्दै कोरोना महामारि विरुद्ध लड्न सबैले आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
साथै गणतन्त्र दिवसको अवसरमा चान्सरी तथा राजदूत निवासमा राष्ट्रिय झण्डा फहराउनुका साथै साँझ दिपावली समेत गरिएको डीसीएम सुरेन्द्र कुमार यादवले जानकारी दिए।
Facebook Comment