न्युयोर्कद्वारा ‘विश्व सगरमाथा दिवस’ मनाउने घोषणा

डिसी नेपाल
१६ जेठ २०७८ १८:३४

काठमाडौं । अबदेखि न्युयोर्कले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व सगरमाथा दिवस’ कार्यक्रममा न्युयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमारले यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विधानसभा सदस्य राजकुमारले आगामी वर्ष विश्व सगरमाथा दिवस न्युयोर्कको राजधानी आल्बनीको एसेम्ब्ली हलमा मनाउने बताएका छन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषणा गरेका हुन् ।

शनिबार(मे २९) का दिन गरिएको उक्त कार्यक्रमको शुरुमा दीप प्रज्वलन गरी हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड्–१९ का कारण ज्यान गुमाउनकाको चिर शान्तिको कामना गर्दै लामा गुरुहरुबाट पूजा प्रार्थना गरिएको थियो ।

कोभिड्–१९ का कारण ठूलो जमघट गर्न नमिल्ने र मातृभूमि नेपालमा हजारौं दाजुभाई दिदीबहिनीहरुले ज्यान गुमाईरहेको अवस्थाले गर्दा बढी तामझाम् गर्नु उपयुक्त नहुने भएकोले गत साल र यस सालको सगरमाथा दिवस ज्यादै सीमित अतिथिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

अतिथिको आसनबाट बोल्नु हुँदै जि पि के फाउन्डेशन अमेरिकन च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरी न्युयोर्क स्टेट् एसेम्ब्लीको निर्णय प्रति आभार प्रकट गर्दै यो दिवसको अस्तित्व मेटाउने गरी अन्य कुनै दिवस ल्याउन नहुनेसमेत बताए ।

रोटरी क्लबका सहायक गभर्नर नवराज केसीले सगरमाथा दिवस हामी सबैको गौरब भएको हुनाले यस दिवसको पहिचान जोगाउन सबैजना जागरुक हुनु पर्ने बताए ।

कार्यक्रममा न्युयोर्क काउन्सिल डिस्ट्रिक्ट–२५ का पूर्व चीफ् स्टाफ क्यारोलिन् ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले सगरमाथा दिवसको पक्षमा आ–आफ्नो भनाई राखेको थिए ।

‘मे २९ भनेको नेपाल डे पनि होइन, नेपाल परेड डे पनि होइन’ भन्दै शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पाले सो दिन सगरमाथा दिवसको रुपमा स्थापित भैसकेको बताए । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले न्युयोर्क राज्यले मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णयको स्वागत गरे । र, उनले न्युयोर्क राज्य सरकार र यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

प्रमुख अतिथि राजकुमारले क्लाईम्बर्स अध्यक्ष पासाङ् निमा शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुशन प्रमाणपत्र, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साईटेशन र प्रसंशा स्वरुप व्यक्तिगत साईटेशन गरी तीनवटा प्रमाणपत्र एकै पटक हस्तान्तरण गरेका थिए ।

सगरमाथा दिवस कार्यक्रममा करिब ४० जनाभन्दा बढी सगरमाथा आरोहीका साथै सगरमाथा आरोहणमा विभिन्न कृतिमान कायम गर्ने आरोहीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम संचालन संस्थाका महासचिव मिङ्मार लामाले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *