पाण्डेयः एमाले छाडेर प्रदेशसभा सदस्यबाट राजीनामा दिएको एक महिनामा राष्ट्रिय सभा सदस्य

डिसी नेपाल
१७ जेठ २०७८ १८:३७

काठमाडौं। लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले विवादका बीच मुख्यमन्त्रीको शपथ लिएपछि गत वैशाख १९ गते कपिलवस्तुबाट विजयी एमाले सांसद दृगनारायण पाण्डेयले प्रदेशसभा सदस्यबाट राजीनामा दिए।

राजीनामा दिएको भोलिपल्टै उनी काँग्रेसमा प्रवेश गरे। काँग्रेस प्रवेश गरेको एक महिनामै उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। पाण्डेय काँग्रेसमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशसभा काँग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले डिसी नेपालसँग भनेका थिए, ‘उहाँ पनि काँग्रेस नै हो। बीचमा कुरा नमिलेपछि एमाले हुनुभएको थियो। अहिले पुरानै पार्टीमा फर्किनु भएको छ।’

अर्घाखाँचीका तत्कालिन माओवादी केन्द्रका नेता चन्द्रबहादुर खड्का नेकपा खारेज भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेतर्फ लागे। माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित उनी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्यो।

दल त्याग कानुन अनुसार खड्का पदमुक्त भए। खड्का पदमुक्त भएपछि लुम्बिनीमा सोमबार उपनिर्वाचन भयो। उपनिर्वाचनमा पनि एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो। तर, उनी भर्खर एमाले छाडेर काँग्रेस बनेका काँग्रेस उम्मेदवार पाण्डेयसँग पराजित हुन पुगे।

उता प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डेयले भने छलाङ मारेका छन्। राष्ट्रिय सभामा निर्वाचित पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। ३०० मध्ये मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए। प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *