संवैधानिक इजलास जेठ २३ गतेसम्मका लागि स्थगित

डिसी नेपाल
१८ जेठ २०७८ १४:१७

काठमाडौं। संवैधानिक इजलास जेठ २३ गतेसम्मका लागि स्थगित भएको छ । ५ सदस्यीय इजलासका दुई न्यायाधशिहरुले आफूहरु इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीशले इजलास जेठ २३ गतेसम्मका लागि स्थगित गरेका हुन् । प्रधानन्यायाधशिले २३ गतेको इजलासका लागि रोष्टरबाट नयाँ ४ जना न्यायाधीश छानेर इजलास गठन गर्ने घोषणा गरेका छन् ।

मंगलबारको सुनुवाइपछि न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने घोषणा गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले २३ गते नयाँ इजलास गठन हुने बताएका हुन् । संवैधानिक इजलासका लागि सर्वोच्च अदालतमा न्यायपरिषदको सिफारिसमा १ दर्जन न्यायाधीशहरुको रोष्टर हुन्छ ।

प्रधानन्यायाधीशले त्यही रोष्टरमा भएका न्यायाधीशमध्येबाट ४ न्यायाधशि छानेर संवैधानिक इजलास गठन गर्छन् । मंगलबार नै सर्वोच्च अदालत बार एसोसिएसनसँगको छलफलपछि संवैधानिक इजलास गठनको लागि रोष्टरमा रहेका न्यायाधीशहरुमध्ये बरिष्ठताका आधारमा न्यायाधीशहरु छान्ने सहमति भइसकेको छ । प्रधानन्यायाधीशले पनि २३ गते बरिष्ठ न्यायाधीशहरुमध्येबाट इजलास गठन गर्ने बताएका छन् ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएदेखि नै इजलासका सदस्य न्यायाधीशहरुका विषयमा प्रश्न उठेको थियो । प्रतिनिधिसभा विघटनका विषयमा परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलास गठन गरेका थिए । तर, कानुन व्यवसायीहरुले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा बस्न नमिल्ने दावी गर्दै आएका थिए ।

न्यायाधीश बमकुमार श्रेष्ठले नेकपाको नामको विषयमा ऋषि कट्टेलका तर्फबाट दायर रिटउपर सुनुवाइ गर्दै नेकपा विभाजनको फैसला गरेको र अर्का न्यायाधीश तेजबहादुर केसीले सोही मुद्दा पुनरावलोकन गर्न अस्वीकार गरेका थिए । यही कारण कानुन व्यवसायीले यी न्यायाधीश इजलासमा बस्न नहुने दावी गर्दै आएका थिए । कानुन व्यवसायीले नेकपा विभाजनको फैसला र अहिले सुनुवाइ भइरहेका रिटको विषयवस्तु सम्बन्धित रहेकोले यी न्यायाधीश इजलासमा बस्न नहुने भनेका थिए ।

विवाद भएपछि तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने इजलासबाट नबाहिरिने स्पष्ट पारेका थिए । प्रश्न उठेका न्यायाधीशलाई प्रधानन्यायाधीशले यस विषयमा ‘आफैँ निर्णय गर्न’ भनेका थिए । तर, उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु नै इजलासबाट बाहिरिने घोषणा गरेका थिए । यससँगै यो इजलास विघटित भएको छ र अब नयाँ इजलास तोकिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *