जसपा विभाजनको घोषणा हुनमात्र बाँकी, दुबै पक्षद्वारा एकअर्कालाई पार्टीबाट निष्कासन

डिसी नेपाल
१८ जेठ २०७८ १६:५२

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको घोषणामात्र हुन बाँकी भएको छ। मंगलबार अध्यक्ष उपेन्द्र यादव समूह र अर्का अध्यक्ष महन्थ ठाकुर समूहले एकअर्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै जसपा औपचारिक रुपमै विभाजनको संघारमा पुगेको हो।

उपेन्द्र यादवको अध्यक्षमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको पत्र निर्वाचन आयोगलाई बुझायो। त्यसपछि महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले पनि उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको निर्णय लिएको छ।

उपेन्द्र समूहले सोमबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले कारबाहीको निर्णय लिएको जानकारी दिएको छ भने महन्थ समूहले मंगलबार बबहरमलस्थित पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई निष्कासन गरेको जनाएको छ।

उपेन्द्र समूहले ५१ सदस्यीय कार्यकारिणी समिति मध्ये बहुमतबाट निर्णय लिएको दावी गरेको छ। उता महन्थ समूहले भने बहुमतबारे केही भनेको छैन।

जसपा बनेको लगभग एक वर्षपछि विभाजन हुन लागेको हो। गत वर्ष वैशाखमा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर तत्कालिन राजपा र संघीय समाजवादी पार्टीलाई विभाजन गर्न लागेको चाल पाएपछि दुबैदलबीच हतारहतारमा एकता भएर जसपाको जन्म भएको थियो। पार्टी एक भए पनि राजपा र संघीय समाजवादी भने आ आफ्नो तालमा अघि बढिरहेका थिए। गत वर्ष ओली सरकारकै कारण जन्मिएको पार्टी एक वर्षपछि ओली सरकारकै कारण विभाजन हुने स्थितिमा पुगेको हो।

जसपाको उपेन्द्र समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिनुपर्ने भन्दै विपक्षी गठबन्धनमा छ। र यो समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावमा समर्थन गर्र्दै हस्ताक्षरसमेत गरेको थियो। वैशाख २६ मा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा उपेन्द्र समूहले विपक्षमा मतदान गरेको थियो।

उता महन्थ समूह भने पुस ५ को प्रकरण यता प्रधानमन्त्री ओलीसँग लगातार सम्पर्कमा रहेको थियो। र अहिले सो समूहले ओली सरकारमा सहभागी हुनेसमेत निर्णय गरिसकेको छ। र मन्त्रालयको संख्यासमेत टुंगो लागिसकेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा तथस्ट बसेको महन्थ समूहले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउनका लागि आव्हान गर्दा ओलीको समर्थनमा हस्ताक्षरसमेत गरेको थियो।

महन्थ समूह सरकारमा जाने निश्चित भएपछि उपेन्द्र यादवको अध्यक्षमा बसेको जसपा बैठकले ओली सरकारमा गए पार्टीबाट स्वतः निष्कासन हुने निर्णय गरेको थियो। र सोही निर्णयअनुसार महन्थ ठाकुरलगायत ४ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। सो समय सोमबार सकिएको थियो। सोमबार समय सकिएसँगै मंगलबार कारबाहीको निर्णय सार्वजनिक गरिएको हो।

जवाफमा महन्थ समूहले पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो। र मंगलबार कारबाहीको निर्णय लिएको छ।

दुबै समूहले निर्णयहरु निर्वाचन आयोगमा बुझाएका छन्। अब जसपाको विवादको निरुपण निर्वाचन आयोगले गर्नुपर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *