चिरा पर्दै जसपा

डिसी नेपाल
१९ जेठ २०७८ ६:२८

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ । अध्यक्ष महन्थ ठाकुरले मंगलबार अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । ठाकुरले यादवलाई कारबाही गर्नुअघि यादवले मंगलबार नै चार नेतालाई कारबाही गरेको पत्र सार्वजनिक गरेका छन् ।

यादवले ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । यादवनिकट नेता प्रकाश अधिकारीले पार्टी हितविपरीत कार्य गरेकाले विधानअनुसार अनुशासनको कारबाही गरिएको बताए ।

एकअर्कालाई कारबाही गर्दै दुवै समूहले त्यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत गराएका छन् । यसअघि, दुवै समूहले एकअर्कालाई स्पष्टीकारण सोधेका थिए ।

पछिल्लो समय सरकारमा सहभागी हुने विषयलाई लिएर पनि पार्टीभित्र विवाद बढ्दै गएको छ । सरकार निर्माण विषयमा जसपाभित्र विवाद चर्किंदै गएपछि शीर्षनेता दुई धु्रवमा विभाजित भएका छन् । ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । तर, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र यादव समूह विपक्षी गठबन्धन बनाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन् ।

पार्टी विवाद चर्किंदै गएपछि एकअर्कालाई सोधिएको स्पष्टीकरणको जवाफ कसैले दिएनन् । सरकारमा सहभागी हुने विषयमा शीर्ष नेताको मत विभाजित रहेको छ । सोही कारण दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि एकअर्कोलाई स्पष्टीकरण सोध्नेक्रम पनि सुरु भयो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *