काँग्रेस महाधिवेशनका लागि विभिन्न मोडलको चर्चा

डिसी नेपाल
१९ जेठ २०७८ २०:१७

काठमाडौं। मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस अहिले कानुनले दिएको समयसीमा भित्र महाधिवेशन गर्न नसकेर संकटमा फस्ने जोखिममा छ। सभापति शेरबहादुर देउवाको कार्यकाल दुई पटक थपि सकिएको छ। अब थप्न कानुनले दिँदैन। तर, कोरोनाले सहजै महाधिवेशन पनि गर्न नदिने अवस्था छ। काँग्रेसको १४ औं महाधिवेशनका लागि आगामी भदौ ७ देखि १० सम्मको मिति तोकिएको छ। महाधिवेशनको मिति तोकेर त्यसअनुसार कार्यतालिका बनाइएको छ। तर, कार्यतालिका अनुसार कुनै पनि काम सम्पन्न हुन सकेका छैनन्।

काँग्रेसले गत वर्षको पुसमै सक्ने भनेको क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम अहिलेसम्म सकेको छैन। हालसम्म ६५ जिल्लाकोमात्र क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा इन्ट्रि भएको छ। बाँकी १० जिल्लालाई यही वैशाख २५ गतेसम्मको समयसीमा तोकिएको छ।

यसरी महाधिवेशन संकटमा परेपछि काँग्रेस भित्र महाधिवेशनका लागि विभिन्न मोडलहरुमा चर्चा शुरु भएको छ। पार्टी संस्थापन पक्ष ७७ वटै जिल्लाबाट मत दानगर्ने गरी वा अनलाइनबाट मतदान गर्ने गरी महाधिवेशन गर्नुपर्ने लबिंगमा लागेको छ भने सभापति देउवा इतर समूहले त्यसमा आशंका गरेको छ।

हालै नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले महाधिवेशन नगरेर आफूले कलंकको टिका नलगाउने बताएका थिए। तर उनले कसरी महाधिवेशन हुन्छ भन्ने विषयमा भने केही खुलाएनन्। तर, प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले निर्णय गरेमा अनलाइन प्रविधिबाट मतदान गर्ने व्यवस्था मिलाउन सकिने र त्यसको तयारी पनि भइरहेको जानकारी दिएका थिए।

संस्थापन पक्ष अनलाइनमै केन्द्रित हुने देखेपछि बुधबार देउवा इतर समूहको जूम मिटिङ भएको थियो। सो मिटिङमा महाधिवेशनबारे चर्चा भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘महाधिवेशन कसरी गर्ने भन्ने विषयमा विभिन्न मोडलहरुमा चर्चा भएको छ।’ उनले आफूले भेलामा क्रियाशील सदस्यको विषय टुंग्याएर अरु प्रक्रिया छोटो बनाएर महाधिवेशन गर्न सकिने विचार राखेको बताए।

उनले भने, ‘क्रियाशील सदस्यताको विषय टुंग्याउने हो भने प्रारम्भिक मतदाता तयार हुन्छन्। त्यो भनेको ६० प्रतिशत काम सकिन्छ। बाँकी ४० प्रतिशतमा प्रक्रिया छोटो बनाएर तोकिएकै मितिमा महाधिवेशन गर्न सकिन्छ भन्ने मैले मेरो कुरा राखेँ।’

उनले अनलाइनबाट मतदान गर्नेबारे भने विश्वास गर्न नसकिने बताए। उनले भने, ‘अनलाइनबाट मतदान गर्ने विषय हाम्रोमा विश्वासिलो छैन। विश्वास गर्ने अवस्था पनि छैन।’ उनका अनुसार भेलामा वरिष्ठ नेता पौडेलले तोकिएको समयमा महाधिवेशन नहुने खतरा बढेर गएको भन्दै चिन्ता प्रकट गरेका थिए। पौडेलले विषेश परिस्थितिमा विषेश महाधिवेशन गर्नुपर्ने अवस्था आउन सक्नेसमेत बताएका थिए।

भेलामा १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरु सहभागी गराएर महाधिवेशन गर्न सकिने विषयमासमेत चर्चा भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *