अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा

डिसी नेपाल
२१ जेठ २०७८ ६:३३

काठमाडौं । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो ।

नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् । राष्ट्रपतिको अनुरोध सँगै अमेरिका नेपाललाई खोप दिन सकारात्मक देखिएको थियो ।

खोप उपलब्ध गराउने घोषणा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् । अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा खोप उपलब्ध गराउने नेपाललगायत मुलुकको सूची सार्वजनिक गरेको हो । अमेरिकाको यो खोप वितरण खाकाअनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने जनाइएको छ ।

अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्यअमेरिकी मुलुकका लागि ६ मिलियन, अफ्रिकी मुलुकका लागि ५ मिलियन खोप वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ । अमेरिकाले आफूसँग स्टकमा रहेको आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको जनाइएको छ ।

२४ घण्टामा १ करोड १० लाखको स्वास्थ्य सामग्री भित्रियो
कोरोना महामारी दोस्रो लहरले आक्रान्त नेपाललाई विश्व समुदायको सहयोगले मलमको काम गरिरहेको छ । कोरोना महामारीका कारण स्वास्थ्य संकट भोगिरहेको नेपाललाई बितेको २४ घण्टाभित्र १ करोड १० लाखभन्दा बढी मेडिकल उपकरण सहयोग आएको छ । यी स्वास्थ्य सामग्रीले थोरै भए पनि राहत दिएको छ ।

कोरोना संक्रमणले दैनिक स्वास्थ्य संस्थामा बिरामी चाप बढिरहेकै बेला विश्व समुदायको राहतले मलमको काम गरेको हो ।

बिहीबार मात्रै जापान सरकारले नेपालका अस्पताललाई १ सय ६० अक्सिजन जेनेरेटर सहयोग गरेको छ । कोभिड–१९ उपचारका लागि अत्यावश्यक उपकरण सहयोग क्रममा जापानले हस्तान्तरण गरेका यी अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिनेछ । यसअघि पनि जापानले गत वर्ष कोभिड बिरामीलाई अस्पताल लैजान ६ एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य सामग्री आएलगतै नेपालका लागि जापनी राजदूत किकुता यताकाले अक्सिजन जेनेरेटरमार्फत् अक्सिजन सिलिन्डरबिना बिरामीको उपचारमा सहज अक्सिजन आपूर्ति हुने बताएका छन् । कोरोना बिरामीलाई जटिलता आउन नदिन अक्सिजन आपूर्ति गर्न उपयोग हुनेछ ।

फ्रान्सबाट एन्टिजेनिक किट सहयोग
फ्रान्सले कोभिड–१९ संक्रमणसँग जुधिरहेको नेपाललाई ५ लाख ४ हजार एफएफपीटु मास्क, २० हजार २ सय २५ एन्टिजेनिक परीक्षण किट, १२ हजार प्रोटेक्सन र १४ रेस्पिरेटर्स हस्तान्तरण गरेको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियर लेजरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

यूएईबाट स्वास्थ्य सामग्री
यूएई सरकारले नेपाललाई मास्क २ लाख ४३ हजार ६ सय, गाउन १५ हजार, पन्जा २० हजार, भेन्टिलेटर बीप्याप १ सय ५० र १ सय ५० ट्रली सहयोग गरेको छ ।

बेल्जियम १० लाख मास्क दिने
बेल्जियमले नेपाललाई १० लाख थान सर्जिकल मास्क र २ हजार नासल क्याथेटर उपलब्ध गराउने भएको छ । यी स्वास्थ्य सामग्रीमध्ये आधा बेल्जिलयमले नेपाललाई हस्तान्तरण गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बाँकी सामग्री आगामी शनिबार नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ ।

दक्षिण कोरियाबाट आउँदै
दक्षिण कोरियाले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगस्वरूप २ लाख अमेरिकी डलर (२ करोड ३३ लाख १९ हजार रुपैयाँ)को स्वास्थ्य सामग्री पठाउने भएको छ ।

कोरियाले पठाउने स्वास्थ्य सामाग्रीमध्ये १७ हजार ७ सय ६० थान आरटी–पीसीआर टेस्ट किट्स बिहीबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, आगामी जुलाई र अगस्टमा कोरियाले ३ सय ७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउनेछ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *