भौतिक पूर्वाधार मन्त्रीहुँदा हटाइएका महासेठ उपप्रधानमन्त्री भएर फर्किए ओली क्याविनेटमा

डिसी नेपाल
२१ जेठ २०७८ २१:५७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा २०७४ चैत २ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका रघुविर महासेठ २०७७ मंसिर ४ गते पदमुक्त गरिए।

उनलाई हटाउनको कारण कार्यसम्पादन मूल्यांकनमा कमजोर मानिएको थियो। प्रधानमन्त्री ओलीले २०७७ को शुरुमै मन्त्रीहरुसँग सम्झौता गरेर मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन शुरु गरेका थिए। सो मूल्यांकनमा महासेठ कमजोर देखिएपछि उनलाई हटाइएको थियो। महासेठ मन्त्रीहुँदा सडकमा भएका खाल्डाखुल्डीले गर्दा सरकारको निकै आलोचना भएको थियो। मन्त्री पनि आलोचनाको केन्द्रमै थिए। महासेठलाई हटाएर प्रधानमन्त्री ओलीले बसन्तकुमार नेम्वाङलाई सो मन्त्रालयको जिम्मेवारी दिए। नेम्वाङ शुक्रबार मन्त्रिमण्डल पुनःगठन हुँदा पद जोगिने ४ जनामन्त्री मध्ये एक हुन्।

शुक्रबार नवनियुक्त मन्त्रीहरुको नामावली सार्वजनिक हुँदा एक नाम अप्रत्यासित थियो। त्यो हो उनै रघुविर महासेठको। उनी यसअघिभन्दा शक्तिशाली उपप्रधानमन्त्रीसहति ओली क्याविनेटमा फर्किएका छन्। त्यो पनि निकै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा। महासेठले शुक्रबारै परराष्ट्र मन्त्रालयको पदभारसमेत सम्हालिसकेका छन्।

महासेठको घरपरिवार त्यसो त ओली सरकारको क्याविनेटमा निरन्तर छ। मंसिर ४ मा महासेठ मन्त्रिबाट हटाइएका थिए भने पुस ११ मा गरिएको मन्त्रिमण्डल विस्तारमा उनकी श्रीमती जुली महतोलाई मन्त्री बनाइएको थियो। शुक्रबार महतोलाई विदा गरिँदा महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन्।

ओली सरकारमा फर्किने अर्का भाग्यमानी मन्त्रीको नाम हो शेरबहादुर तामाङ। २०७४ चैत २ मा भएको मन्त्रिपरिषद विस्तारमा कानुनमन्त्री बनेका तामाङले बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीबारे बोलेको एक विषय विवादमा आएपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए।

शुक्रबार उनी कोरोनाकालमा महत्वपूर्ण जिम्मेवारीसहित ओली क्याविनेटमा फर्किएका छन्। उनी स्वास्थ्यमन्त्री बनेका छन्। तामाङ शुरुदेखि नै माधव नेपाल समूहमा थिए। प्रधानमन्त्री ओली पहिलो पटक पुस ५ मा संसद विघटन गर्दा तामाङले खरो विरोधसमेत गरेका थिए। तर, केही समयपछि उनी ओली क्याम्पमा फर्किए। र अहिले मन्त्री बने। र तामाङकी श्रीमती उषाकला राई अहिले प्रदेश १ मा मन्त्री छिन्। एउटै घरबाट दुई मन्त्री हुने यो भाग्यमानी जोडी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *