हुम्ला सदरमुकाममा कुखुराको मासु ल्याउन किन प्रतिबन्ध लगाइयो ?

रासस
२३ जेठ २०७८ १२:२०

सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।

कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाईमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना सङ्क्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको उनले बताए ।

हुम्लामा हवाईमार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घण्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला डिसीसिएमसीले बनाएको छ । अन्य सबै सामान सो अवधिपछि मात्र उठाउने गरिँदै आएको छ । लामो समयसम्म मासु राख्दा बिग्रिने भएको कारण मासु आयातमै प्रतिबन्ध लगाइएको हो ।

सत्तरी प्रतिशत माग नेपालगञ्ज र सुर्खेतबाट आएको मासुले हुम्लामा धान्ने गर्दै आएको थियो । कुखुराको मासु आयातमा प्रतिबन्ध लागेपछि हुम्लामा मासुको समस्या हुन थालेको छ । खसी कम पाइने भएकाले हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयात हुँदै आएको हो ।

हुम्लामा कुखुराको मासु प्रतिकेजी रु ५५० पर्ने गर्थ्यो । मासु आयातमा प्रतिबन्ध लागेपछि आधा दर्जन व्यवसायी मारमा परेका छन् । कुखुराको मासु आयातमा प्रतिबन्ध लागेसँगै खसीको मासुको मूल्य भने आकासिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *