३ दिनपछि संवैधानिक इजलासको पेशी तोकियो तर यो इजलास पनि भंग हुने जोखिम

डिसी नेपाल
२६ जेठ २०७८ ११:२३

काठमाडौं। आइतबार हेर्दाहेर्दैमा स्थगित भएको संवैधानिक इजलासको पेशी ३ दिनपछि आज तोकिएको छ । सोमबार र मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा बिरामी भएका कारण इजलासको पेशी नतोकिएको सर्वोच्च अदालतले जनाएको छ । बुधबार इजलासको पेशी तोकिएको भए पनि यो इजलास विषयवस्तुमा प्रवेश गर्छ वा भंग हुन्छ भन्ने जोखिम छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयमा परेका रिटमाथि सुनुवाइका लागि गठित यो इजलासका २ न्यायाधीशमाथि आइतबार सरकार पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । न्यायाधीशमाथि नै प्रश्न उठाइएपछि आइतबारको इजलास विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दैमा स्थगित भएको थियो । आजको इजलास पनि विषयवस्तुमा प्रवेश गर्छ कि गर्दैन भन्ने विषयमा आशंका छ ।

सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईमाथि प्रश्न उठाएका थिए । यी दुई न्यायाधीशले आज इजलासमै यसको जवाफ दिने तयारी गरेका छन् । तर, न्यायाधीशले जवाफ दिएपछि पनि विवाद कायमै रह्यो भने यी दुई न्यायाधीशले इजलासमा बस्न अस्वीकार गर्न सक्छन् । यदि यी दुई न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरे भने यो इजलास पनि विघटन हुनेछ र अर्को इजलास गठन गर्नुपर्नेछ ।

यसअघि गठित संवैधानिक इजलासमा पनि न्यायाधीशमाथि प्रश्न उठेपछि विवाद भएको थियो । विवादका क्रममा प्रश्न उठेका २ न्यायाधीशले आफुहरुले इजलास नछाड्ने बताएपछि विवाद नपरेका अन्य २ न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेका थिए । दुई न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेपछि यसअघिको इजलास स्थगित भएको थियो । यसअघि इजलासमा नबस्ने घोषणा गरेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई नै हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *