कहिले पाउँछ मन्त्रिपरिषदले पूर्णता? सात महत्वपूर्ण मन्त्रालय मन्त्रीविहीन

डिसी नेपाल
२७ जेठ २०७८ ७:५२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्रिपरिषद विस्तार गरे। मौजुदा मन्त्रिपरिषदमा रहेका एमालेका १३ जना मन्त्रीलाई विदा गरेर प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका दश र एमालेका दुई गरी १२ जना मन्त्री नियुक्त गरे।

प्रधानमन्त्रीले ओली जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन। प्रधानमन्त्री ओलीले आफैंसँग सात वटा मन्त्रालय राखेका छन्। मन्त्रिपरिषदको संख्या २५ सम्म बनाउन सकिने संवैधानिक प्रावधान छ। मौजुदा मन्त्रिपरिषद १७ सदस्यीय छ।

प्रधानमन्त्री ओलीले आफूसँग गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी मन्त्रालय राखेका छन्।

रिक्त सात मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्रीले आफ्नै दलभित्रबाट मन्त्री बनाएर जिम्मेवारी दिने तयारी गरेका छन्। तर पार्टीभित्रको आन्तरिक विवादले गर्दा मन्त्रिपरिषद विस्तार गर्न नसकिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

विषेश गरी माधव नेपाल समूहसँग वार्ता भइरहेको र उनीहरुसँग सहमति भयो भने सो समूहका नेतालाई सरकारमा ल्याउने नीति अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार तत्काल नगरेका हुन्। ‘अहिले हामी माधव कमरेड समूहका नेतासँग छलफलमा छौ। छलफल सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँहरुसँग सहमति गरेर मन्त्रिपरिषद विस्तार गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *