काँग्रेसका नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न काँग्रेसको माग

डिसी नेपाल
२९ जेठ २०७८ १७:३५

काठमाडौं। नेपाली काँग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल)लाई नियुक्त गर्न आग्रह गरेको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले शनिबार दिउँसो ३ बजेसम्मका लागि सरकार बनाउनका लागि दावी पेश गर्न आव्हान गरेकी थिइन्। सोही आव्हानअनुसार विपक्षी गठबन्धनले काँग्रेसका नेपालीलाई मुख्यमन्त्री प्रस्तव गर्दै बहुमत ३१ जना सांसदको हस्ताक्षरसहित सशरिर उपस्थित भएर दावी पेश गरेको थियो।

तर, शनिबार कामचलाउ मुख्यमन्त्री गुरुङले पनि सरकार बनाउने दावी पेश गरेपछि राजनीतिक घटनक्रममा नयाँ ट्वीस्ट आएको छ। काँग्रेसले गुरुङको दावीलाई षड्यन्त्र भनेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै शीतल निवास झै षड्यन्त्र पोखरामा नदोहोरियोस भन्दै चेतावनी दिएका छन्।
काँग्रेसले भनेको छ, ‘नेपालीको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको भौतिक उपस्थिति समेत दावीको क्रममा हिजो तथा आज फेरि पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छ। तर मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएको स्थितिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ।’

काँ्रेसले अगाडि भनेको छ, ‘दुईदिन अघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्यमन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभास पनि गराएको छ। शीतल निवासमा झैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *