को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ?

डिसी नेपाल
२९ जेठ २०७८ १७:५०

काठमाडौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। उनलाई शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।

मुख्यमन्त्री बन्ने तेस्रो प्रयासमा नेपाली शनिबार मुख्यमन्त्री बने। उनी गण्डकीको दोस्रो मुख्यमन्त्री बनेका छन् भने काँग्रेसको पहिलो मुख्यमन्त्री हुन्। एमालेका नेता निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि विहीबार पदमुक्त भएका थिए। नेपाली माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनले अब एक महिना भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ।

कांग्रेसको १५, माओवादीको ११, जसपा र जनमोर्चाका दुई दुई तथा स्वतन्त्र एक गरी ३१ सांसदको समर्थनमा नेपाली मुख्यमन्त्री बनेका हुन्।

नवनियुक्त मुख्यमन्त्री नेपाली २००६ सालमा तनहुँ (हालको व्यास नगरपालिका ११) मा जन्मिएका हुन्। उनी कांग्रेस तनहुँका संस्थापक नेता गोवद्र्धन पोखरेलका छोरा हुन्। प्रवासमा लामो समय बसेका उनका बाबुको सर्वस्वहरण भएको थियो। राजनीतिक परिवारमा जन्मिएका नेपाली भद्र, शिष्ट र मिलनसार नेताको रुपमा परिचित छन्।

नेपाली प्रदेशसभामा नवलपरासी–१ को ‘क’बाट निर्वाचित भएका थिए नेपालीले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई पराजित गरेका थिए। नेपालीले १७ हजार ६८३ मत पाएका थिए। नेपाली लामो समय नवलपरासीका कांग्रेस जिल्ला सभापति पनि भए। ४८ सालपछि उनी निरन्तर झण्डै २० वर्ष नवलपरासी कांग्रेसको जिल्ला सभापति भए। २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए। उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन्।

यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन्। १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित भएका थिए।

चार भाइमध्ये नेपाली माइलो हुन्। उनका दाई रामचन्द्र पोखरेल संविधानसभा सदस्य तथा कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *