जसपा विवादः बहुमत नपुगेपछि महन्थ समूहले निर्वाचन आयोगमा पत्र बुझाउन सकेन

डिसी नेपाल
३० जेठ २०७८ १७:४०

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को विवाद निर्वाचन आयोगमा पुगेको दुई हप्ता हुन लागेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले एकअर्कालाई कारबाही गरी पार्टीबाट निष्कासन गर्दै केन्द्रीय कार्यकारिणी समितिमा भएको फेरबदल अभिलेखका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

निर्वाचन आयोगले महन्थ ठाकुरले पठाएको पत्र अपुरो भन्दै निर्णय प्रतिलिपी र उपस्थित सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिन भने पनि सो समूहले आफूले मागेको समयसम्म पनि त्यसअनुसार निवेदन दिन सकेको छैन। आयोगले उपेन्द्र यादवलाई कारबाही गरिएको निर्णय प्रतिलिपी र हस्ताक्षर मागेपछि महन्थ समूहले आइतबारसम्मको समय मागेको थियो। तर, आइतबार पनि सो समूहले आयोगमा निवेदन बुझाएन।

महन्थ ठाकुर निकट जसप नेता सुरेन्द्र यादवले सोमबार पत्र पठाइने दावी गरे। उनले डिसी नेपालसँग भने, ‘पार्टीका हरेक कमिटीमा अध्यक्ष ठाकुर पक्षको बहुमत छ। भोलि पत्र पठाउँछौं।’ उनले बहुमत रहेको दावी गरे पनि आइतबार बोलाइएको सो समूहको बैठकसमेत बस्न नसकेको स्रोतले बतायो। स्रोतका अनुसार आइतबार सो समूहका नेता तथा मन्त्री राजकिशोर यादव अनुपस्थित भएपछि आइतबार बैठक बस्न सकेन।

महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरिएको जानकारी आयोगलाई दिएका थिए। तर, उनको सो पत्र राजनीतिक दल सम्बन्धी नियामवलीको अनुसूची १८ अनुसार नभएको र बैठकको निर्णय पनि संलग्न रहेको भन्दै सोहीअनुसार निवेदन दिन भनेको थियो।

उता अर्का अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरिएको जानकारी आयोगलाई दिएका छन्। आयोगलाई उनले शुरुमा दिएको निवेदन नमिलेको भन्दै अनुसूची १८ अनुसार फेरि निवेदन दिन आयोगले पत्राचार गरेको थियो। आयोगको पत्राचारअनुसार सो समूले निवेदन दिइसकेको छ। ५१ सदस्यीय कार्यकािरणी समितिमा उपेन्द्र समूहमा ३२ जना रहेका छन्।

ठाकुर समूहले आफूले मागेको समयसम्म पनि फेरि निवेदन दिन नसकेपछि आयोगले सोमबार कुनै निर्णय लिन सक्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *