काँग्रेस सांसद श्रेष्ठ र प्रहरी निरीक्षक श्याम थापा मगरको भाइरल भिडियोको पृष्ठभूमि (भिडियो)

डिसी नेपाल
३० जेठ २०७८ २१:४७

काठमाडौं। आइबार बिहानैदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ। कास्कीको पोखरमा काँग्रेस प्रदेश सांसद मेखलाल श्रेष्ठ र प्रहरी निरीक्षक श्याम थापा मगरबीचको यो भनाभन भिडियो भाइरल भइरहेको छ। भिडियोमा काँग्रेस सांसद श्रेष्ठले प्रहरी निरीक्षकको हिसाबकिताब राख्ने भन्दै धम्क्याएका छन् भने प्रहरी निरीक्षक थापा मगरले आफ्नो नाम र ड्युटी रहेको स्थान भन्दै सांसदलाई चुनौति दिन्छन्।

यो भिडियो भाइरल भएपछि काँग्रेस सांसद श्रेष्ठको आलोचना भइरहेको छ। उनले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई धम्क्याएको भन्दै उनको आलोचना भइरहेको छ। यो घटनाको पृष्ठभूमिबारे कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले डिसी नेपाललाई जानकारी दिएका छन्।

उनले डिसी नेपालसँग फोनमा भने, ‘शुक्रबार काँग्रेससहितका दलहरुका ३१ जना सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार बनाउने दावी गरेका थिए। शनिबार तीन बजिसक्दा पनि नयाँ मुख्यमन्त्री नियुक्त नभएपछि ३१ जना नै सांसदहरु फेरि प्रदेश प्रमुखको कार्यालय अगाडि आएर धर्ना बसे। हामीले केही पत्रकार र सांसदहरुलाई मात्र त्यहाँ बस्ने अनुमति दिएका थियौं। तर काँग्रेस सांसद श्रेष्ठले अन्य मानिसलाई पनि त्यहाँ घुसाउन खोज्दा प्रहरीले रोकेको हो।’

प्रहरीले अरु मानिसलाई रोकेपछि काँग्रेस सांसद आक्रोशित भएको र प्रहरी निरीक्षक थापाले जवाफ दिएको भिडियोमा देखिएको जस्तै भएको प्रवक्ता हमालले बताए। उनका अनुसार यो घटना करिब साढे तीन बजेको हो। प्रहरीका अनुसार यो घटना हुँदा प्रदेशले नयाँ मुख्यमन्त्री पाइसकेको थिएन। प्रवक्ता हमालले भने, ‘यो घटना भएको एक डेढ घण्टापछि मुख्यमन्त्रीको नियुक्ति भएको हो।’ प्रहरीले यो विषयलाई सामान्य बनाउने प्रयास गरिरहेको छ। प्रवक्ता हमालले भने, ‘हाम्रो निरीक्षकाे कुनै गल्ति छैन। सामान्य घटना हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *