देउवा, प्रचण्ड र नेपालबीच २ घण्टा छलफल

डिसी नेपाल
३१ जेठ २०७८ २०:१३

काठमाडौं। विपक्षी गठबन्धनका प्रमुख तीन नेताबीच सोमबार पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको छ। केन्द्रदेखि प्रदेशसम्म आपसी सहकार्य गर्ने रणनीति बनाएका विपक्षी गठबन्धनका प्रमुख नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सवा ५ बजेदेखि ७ बजेसमम करिब २ घण्टा छलफल भएको हो।

स्रोतका अनुसार सभापति देउवा सवा ५ बजे नेता नेपाल निवास कोटेश्वर पुगेका थिए। विपक्षी दलहरुबीच मार्चाबन्दी भएपछि देउवा पहिलो पटक नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। उनीहरुबीच वार्ता हुँदै गर्दा साढे ५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका थिए।

उनीहरुबीच गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बनेको विषय, बागमती, लुम्बिनी र प्रदेश नम्बर १ मा सरकारको नीति तथा कार्यक्रम पारित भएको विषयमासमेत छलफल भएको छ। बागमती र प्रदेश नम्बर एकमा माधव समूहकै सहयोगका कारण सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

विपक्षी गठबन्धनबीच केन्द्रदेखि प्रदेशसम्म सहकार्य गर्ने सहमति भएको चर्चाका बीच प्रदेशहरुमा एमाले एक ढिक्का देखिएपछि प्रमुख नेताहरुबीच छलफल भएको हो। एमाले एक्जुट हुने स्थिति आएमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले बतायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *