सरकारले न्यायलयलाई प्रभावित पार्न खोजेको भन्दै विपक्षी गठबन्धन सशंकित

डिसी नेपाल
३१ जेठ २०७८ २१:०१

काठमाडौं। विपक्षी गठबन्धनका प्रमुख तीन नेताबीच सोमबार पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको छ। केन्द्रदेखि प्रदेशसम्म आपसी सहकार्य गर्ने रणनीति बनाएका विपक्षी गठबन्धनका प्रमुख नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सवा ५ बजेदेखि ७ बजेसमम करिब २ घण्टा छलफल भएको हो।

स्रोतका अनुसार सभापति देउवा सवा ५ बजे नेता नेपाल निवास कोटेश्वर पुगेका थिए। विपक्षी दलहरुबीच मार्चाबन्दी भएपछि देउवा पहिलो पटक नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। उनीहरुबीच वार्ता हुँदै गर्दा साढे ५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका थिए।

मुख्यगरी तीन नेताबीच लोकतन्त्र रक्षा, जनताका अधिकार, कोरोनाविरुद्धको लडाइँका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए। उनले भने, ‘ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्रका लागि खतरा देखिएको तीनै नेताको निष्कर्ष छ। खास गरी सरकारले विभिन्न माध्यमबाट न्यायलयलाई प्रभावित पार्न खोजेको विषयमा कुराकानी भयो। कसरी न्याय मर्न नदिने भन्ने विषयमा गम्भीर छलफल भएको छ।’

उनका अनुसार छलफलमा सरकारले न्यायलयलाई प्रभावित पार्न विभिन्न संयन्त्र परिचालन गरेको विषयमा छलफल भएको छ। यस्तै संवैधानिक आयोग पनि सरकारको छायाँमा परेको जस्तो देखिएको भन्दै संवैधानिक आयोग स्वायत्त र निष्पक्ष हनुपर्नेमा तीनजनाले जोड दिएका थिए।

यस्तै तीन नेताबीच आपसी विश्वास बढाउने विषयमा पनि समीक्षा भएको ती नेताले जानकारी दिए। उनीहरुबीच गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बनेको विषय, बागमती, लुम्बिनी र प्रदेश नम्बर १ मा सरकारको नीति तथा कार्यक्रम पारित भएको विषयमासमेत छलफल भएको छ। बागमती र प्रदेश नम्बर एकमा माधव समूहकै सहयोगका कारण सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

विपक्षी गठबन्धनबीच केन्द्रदेखि प्रदेशसम्म सहकार्य गर्ने सहमति भएको चर्चाका बीच प्रदेशहरुमा एमाले एक ढिक्का देखिएपछि प्रमुख नेताहरुबीच छलफल भएको हो। एमाले एक्जुट हुने स्थिति आएमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले बतायो।

भएको छलफलका बिषयहरू: 

१ समसामयीक राजनीतिक घटनाक्रमको समीक्षा

२ वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा पुन:स्स्पष्टता

३ आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता

४ कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग

५ अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण

६ राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण

७ पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *