यादवले बोलाएको बैठक अनाधिकृत भन्दै ठाकुरद्वारा निर्वाचन आयोगलाई जानकारी

डिसी नेपाल
३ असार २०७८ ९:१४

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ।

वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी महत्वपूर्ण निर्णय लिनुपर्ने भएको भन्दै अध्यक्ष यादवले आज साढे ११ बजेका लागि यादवले बैठक बोलाएका थिए।

तर यादव पक्षले अनधिकृत रुपमा बैठक बोलाएको भन्दै अध्यक्ष महन्थ ठाकेरले सो बैठकमा भाग नदिन कार्यकारिणी सदस्यलाई सचेत गराएका छन्।

 

ठाकुरले बुधबार विज्ञप्ति जारी गरी यादव पक्षले अनाधिकृत रुपमा बैठक बोलाएको र त्यस्तो बैठकमा सहभागी नहुने सदस्य तथा पदाधिकारीलाई आग्रह गरेका हुन्। ‘हिजो जनता समाजवादी पार्टीको नाममा २०७८–०३–०२ गते केन्द्रीय कार्यकारिणी समितिको अवैधानिक र अनाधिकृत बैठक बोलाइएको प्रति हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस बैठकबाट हुने सबै निर्णयहरु हाम्रो लागि अमान्य हुनेछ। त्यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेकाले सम्बन्धित सदस्य तथा पदाधिकारीलाई त्यस्तो बैठकमा सहभगिता नजनाउन आग्रह गर्दछु।’

अध्यक्ष ठाकुरले बुधबार नै निर्वाचन आयोगलाई पत्र लेखेर उपेन्द्र यादव समूहले बोलाएको बैठक अवैधानिक भएका र उक्त बैठकले गरेको निर्णय आफूहरुलाई अमान्य हुने जानकारी गराइसकेका छन्।

 

‘हिजो मिति २०७८–०३–०१ गते श्री उपेन्द्र यादवद्वारा हस्ताक्षर गरी जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक २०७८–०३–०३ अनाधिकृत रुपमा बोलाएकाले उक्त बैठकबाट हुने कुनै पनि निर्णय हामीलाई अस्वीकार्य हुने र अमान्य हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ ठाकुरले निर्वाचन आयोगलाई लेखेको पत्रमा भनिएको छ।

पछिल्लो समय एक पक्षको अर्को पक्षलाई गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि जसपा विभाजनको संघारमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *