आँधीखोलामा बगेका थापा मृतावस्थामा भेटिए
स्याङ्जा। आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृतावस्थामा भेटिएका छन् । पुतलीबजार नगरपालिका–४ राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा शनिबार मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।
आँधीखोला तरेर पारी जाने क्रममा खोलाले थापालाई बगाएको भन्ने खबर प्राप्त गर्नासाथ घटनास्थलतर्फ गएको प्रहरीको टोलीले थापालाई मृतावस्थामा भेटेको र थापाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
एक कर्मचारीको शव फेला
अमरगढी–डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ। परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो।
गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामग्री जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम–९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो। घरपरिवार तथा स्थानीयवासीले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।
घटनास्थलको प्रकृति हेर्दा हत्या गरी फालिएको अवस्थाजस्तो देखिएको छ । प्रहरीले भने शव परीक्षणपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्न सकिने बताएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि शनिबार नै प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग प्रशासनसँग गरेका छन्। रासस
Facebook Comment