सहयाेगी दलकाे चित्त बुझाउन नसक्दा मुख्यमन्त्री पोखरेललाई सरकार विस्तार गर्न सकस

डिसी नेपाल
७ असार २०७८ ९:४८

काठमाडौं। विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सहयोगी दलको चित्त बुझाउन नसक्दा सरकार विस्तार गर्न सकेका छैनन्।

पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलको नेताका रुपमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले गत शुक्रबार विश्वासको मत लिएका छन्। विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद विस्तार गर्न भने सकेका छैनन्।

मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मुख्यमन्त्री पोखरेलले चार जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए। अहिलेसम्म चार जनालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन भने अन्य मन्त्री पनि नियुक्त हुन भएका छैनन्।

गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेपछि चार राजनीतिक दल मिलेर गठबन्धन सरकार गठन भएको हो। त्यस बाहेक एक स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन्। सहयोगी दललाई कुन र कति मन्त्रालय दिने भन्ने विषयमा सहमति नजुट्दा नियुक्त भएका चार मन्त्रीलेसमेत जिम्मेवारी पाएका छैनन्।

दलहरुबीचको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय भागमा परेको छ। माओवादी केन्द्रको भागमा पनि चार मन्त्रालय परेको छ भने जसपाको भागमा दुई मन्त्रालय परेको छ। स्वतन्त्र सांसद दिपक मनाङे मन्त्री नियुक्त भइसकेका छन्।

मन्त्रालयको संख्यामा सहमति भएपनि कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषदल पूर्णता पाउन सकेको छैन।
पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले नै गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने गरी प्रदेश सरकार कार्यविभाजन नियमावली संशोधन गरेको थियो। त्यसअघि सात वटा मन्त्रालय रहेका थिए।

अहिलेसम्म कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० नियुक्त भएर शपथ लिएका छन्। उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

अझै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन जना र जसपाबाट एकजना मन्त्री नियुक्त हुन बाँकी रहेका छन्। जसपाका दुई जना मात्रै सांसद रहेकाले कुनै समस्या छैन् तर माओवादी र कांग्रेसलाई पार्टीभित्रै भागबण्डा मिलाउन सकस परेको छ।

कांग्रेसमा मन्त्रीका लागि लागि विन्दु थापा, मेखलाल श्रेष्ठ र प्रकाशचन्द्र दवाडीको नाम चर्चामा छ। माओवादीबाट गायत्री गुरुङ, रामजी बराल ‘जीवन’ र संसदीय दलका नेता हरिबहादुर चुमानलाई नाम चर्चामा छ। जसपाबाट धनमाया लामा पोखरेल पनि मन्त्री बन्ने चर्चा छ। तर कुन कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति नहुँदा मुख्यमन्त्री पाेखरेलले सरकार विस्तार गर्न सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *