भाषण गरिरहेका प्रधामन्त्री सैन्य कब्जा, सिहंदरवार भित्र बनाइयो बन्दी
![भाषण गरिरहेका प्रधामन्त्री सैन्य कब्जा, सिहंदरवार भित्र बनाइयो बन्दी](https://www.dcnepal.com/wp-content/uploads/2021/02/Singhadurbar-East-North-South-2.jpg)
काठमाडाैं। नेपाल तरुण दलको सम्मेलन जारी थियो । थापाथली स्थित तुङ्ग शमशेर राणाको दरवार परिसरमा । देशरबाट आएका सयौं नेपाली कांग्रेसका सभापति तथा प्रथम जननिर्वाचित बीपीको सुनिरहेका थिए।
कुरा हो, २०१७ पुष १ को । अचानक दरबारका जनरल समरबहादुर सैनिक बर्दीमा मञ्चतर्फ आउन लागेको देखियो । केही समयमै उनले प्रधानमन्त्रीका अङ्गरक्षकलाई बाहिर आउन इसारा गरे । त्यसपछि सेनाले सम्मेलनस्थल घेरिहाल्यो । प्रधान सेनापतिको रोलमा रहेका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए । प्रधानमन्त्रीलाई स्यालुट ठोके ।
सुरूमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । त्यो दृश्य हेर्ने बित्तिकै गृह मन्त्री सूर्यप्रसाद उपाध्यायले भने, “ल सकियो !” उनले प्रधानमन्त्रीलाई भने, “देख्नु भएन, तपाईंको बडीगार्डको पिस्टल खोसेको!”
बीपीले १५ सेकेन्डजति कुनै प्रतिक्रिया दिएनन्। त्यसपछि जर्नेल शाहले ‘उहाँलाई पनि’ भनेर देखायो, अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईतर्फ देखायो । मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई ‘तपाईंहरु सभा चालू राख्नुहोला’ भनेर बीपी बाहिरिए। त्यो दिनको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन्, “सेनाको दोस्रो दर्जामा रहेका कमान्डर इन चिफ सुरेन्द्रबहादुर शाहका ओठमुख सबै सुकिसकेका थिए । उनलाई समरबहादुरको आदेशमा खटाइएको थियो । समरबहादुरले जस जसलाई गिरफ्तार गर्न भन्यो, शाह उनीहरुलाई जिपमा बस्न अनुरोध गर्दै थिए ।
थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो ।
नेपाल तरूण दलको अधिवेशन स्थलबाट सेनाले कब्जामा लिदा समेत राजाले आफूलाई गिरफ्तार गरेर जेलमै पठाउलान् भन्ने बीपीले सोचेका थिएनन्। उनले भनेका छन्, “मलाई दरबार लगिनेछ र राजाले मलाई बर्खास्त गरेर आपैmले सत्ता लिएको बताउनेछन् । मैले यति मात्र सोचेको थिए।”
बीपी सहित मन्त्रीहरु शिवराज पन्त, जमानसिंह गुरूङ, प्रेमराज आङ्देम्बेलाई सिंहदरवार भित्र विलियार्ड घरमा ६० दिनसम्म थुनियो । मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई बरफवागमा राखियो। नेताहरुलाई बन्दी बनाएपछि मात्र रेडियो नेपालबाट अपराह्न साढे ३ बजे शाही घोषणा प्रसारण भयो। अनि देशभर पर्चा छरियो।
त्यसका लागि हेलिकप्टर (वेल ४७ जी ३) प्रयोग गरिएको थियो । “अमेरिकी सरकारले टेलिग्राम र दूरसञ्चार व्यवस्थाका निम्ति दिएको त्यो हेलिकप्टर मङ्सिर २५ गते मात्र नेपाल ल्याइएको थियो ।”
राजाले क्षणभरमै प्रजातन्त्र समाप्त पारे तर त्यसको प्रतिरोध गर्ने उपाय जननिर्वाचित सरकारसँग थिएन । हुन त कु गरेको दिन राजा महेन्द्र तनावमा थिए । चैनसँग निदाउन सकेनन् । राति अकस्मात् दरबारभित्रै टहल्न निस्केछन् । दरबारभित्र मान्छे हिँडिरहेको देखेपछि गार्डले ‘को हो’ भनेर राजालाई रोकेछ।
बीपीले भनेका छन्, “उनी निक्कै अत्तालिएका थिए। त्यस बेला मलाई के विश्वास भएर आयो भने ५० वटा उजी इजरायली सब–मेसिनगन हाम्रो हातमा रहेको भए उनी त्यसो गर्न सक्तैनथे। गर्न सक्तैनथे। गर्न सक्तैनथे । अहिले पनि म यो भन्छु। अहिले पनि ५० जना हतियारबन्द व्यक्तिहरुले यहाँ कु गर्न खोज्यो भने कसैको दम छैन केही गर्ने। मेरो त्यो विश्वास छ। त्यहाँ त्यस दिन त सक्तैनथे। सक्तैनथे। सक्तैनथे।”
अन्वेषणन्युजबाट
Facebook Comment