नयाँ राजनीतिक प्रस्तावको तयारीमा नेपाली काँग्रेस

डिसी नेपाल
३ मंसिर २०७५ १५:४०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ। सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आज प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमको उद्घाट्न सत्रमा सभापति देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी क्रियाकलाप र लोकतन्त्रको रक्षाका लागि सबै एक ढिक्का हुनुपर्ने बताए।

पार्टीको राजनीतिक प्रस्ताव भएकाले यसमा महत्वपूर्ण सुझावका आग्रह गर्दै सभापति देउवाले गम्भीरतापूर्वक छलफलमा भाग आग्रह गरेका थिए। कार्यक्रमका संयोजक गगनकुमार थापाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरे।

काङ्ग्रेसले सबै युवालाई समेट्न युवा मैत्री नीति ल्याउनुपर्नेमा उनले जोड दिए। उद्घाट्नपछि सुझाव सङ्कलनका लागि पाँच समूह बनाएर दिनभर छलफल गरिएको थियो। कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका पार्टीका केन्द्रीय सदस्य, काङ्ग्रेस आबद्ध सङ्घीय र प्रादेशिक सांसद, महासमिति सदस्य, क्षेत्रीय सभापति, स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका प्रमुख र उपप्रमुख तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रादेशिक प्रमुखहरुको सहभागिता थियो।

समितिले शनिबार प्रदेश नं २ र गण्डकी प्रदेशको सुझाव सङ्कलन गरिसकेको छ। यही मङ्सिर ४ गते प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मङ्सिर ६ गते प्रदेश नं ५ मा सुझाव सङ्कलन कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ।

प्राप्त सुझावलाई एकीकृत गरी पार्टीको केन्द्रीय समितिमा पेश गर्ने र केन्द्रीय समितिबाट पारित प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ।काङ्ग्रेसको महासमितिको बैठक यही मङ्सिर २८ देखि आगामी पुस ३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *