आफू निकट नेताहरुसँग पौडेलले भनेः म सभापतिको उम्मेदवार बन्छु सहयोग गर्नुहोस्

डिसी नेपाल
११ असार २०७८ १८:५३

काठमाडौं। नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदार हुने भन्दै आफू निकटहरुसँग सहयोग मागेका छन्।

शुक्रबार राजधानीको दियालो होटलमा आफू निकट नेताहरुसँगको छलफलमा पौडेलले आफू सभापतिको अकांक्षी रहेको भन्दै सहयोग गर्न आव्हान गरेका हुन्।

बैठकमा सभाभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार पौडेलले आफू सभापतिको आकांक्षी रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। पौडेलले आफूले सबैलाई मिलाएर लैजाने भन्दै अहिलेको आवश्यकता अनुसार आफ्नो सभापतिमा उम्मेदवारी रहने बताए।

पौडेलले सभापतिमा आकांक्षा देखाउँदा बैठकमा सहभागी नेताहरुले भने हाल सो समूहमा देखिएका सभापतिका आकांक्षीहरुले एकजुट भएर आउन सुझाव दिएका छन्। पौडेल समूहमा रहेका महामन्त्री डा. शंशाक कोइराला, पूर्वबहामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य शेखर कोइराला र कल्याण गुरुङ सभापतिका आकांक्षी छन्। त्यसैले यी सबै नेताहरु बसेर एकजुट भएरमात्र उम्मेदवारी घोषणा गर्न बैठकका सभागीहरुले सुझाव दिएका छन्। नेताहरले अब आफूखुशी उम्मेदवारी घोषण गर्नुभन्दा पनि सबैको छलफलपछि उम्मेदवारी घोषणा गर्नुपर्ने सुझाव दिएका छन्।

केन्द्रीय सदस्य घिमिरेले आफूले पौडेललाई दुईवटा विकल्प दिएको जानकारी दिए। उनका अनुसार सबैलाई मिलाएर टिम बनाएर उम्मेदवारी दिने एक विकल्प हो भने अर्को विकल्प आफू उम्मेदवार नहुने तर आफ्नो अभिभाकत्वमा टिम घोषणा गर्ने।

बैठकमा शुक्रबारनै महामन्त्री कोइराला निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. कोइरालाबीच भएको भेटबारे पनि कुरा उठेको थियो। बैठकमा सहभागी युवा नेताहरुले सो बैठकबारे महामन्त्री डा. कोइरालासँग प्रश्न गरेपछि कोइरालाले भने कुनै जवाफ नदिएको एक नेताले जानकारी दिए। उनले भने, ‘आजको भेटको विषयमा सोधपछि उहाँ नबोलेरै बैठकबाट बाहिरिनु भयो।’

उता प्रकाशमान सिंहले भने यसअघि पनि तीन नेताबीच भेट भएको र फेरि पनि भेट हुने भन्दै यो भेटलाई अन्यथा लिन नहुने बताएका थिए।

यस्तै पौडेलले बोलाएको शुक्रबारको बैठकको अर्को एजेण्डा क्रियाशील सदस्यताको छानबिनबारे थियो। बैठकमा छानविन समितिमा रहेका नेताहरुको शनिबार बैठक बस्ने कुरा भएको जानकारी दिइएको छ। बैठकमा कृष्ण प्रसाद सिटौला समूहमा रहेका गगन थापा पनि सहभागी थिए। बैठकमा २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सभागी थिए।

सभापति शेरबहादुर देउवाले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गर्दै आफू निकट नेताहरुसँगको एक् चरणको छलफल सकिसकेका छन्। तर, उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीचको निरन्तरको भेटले काँग्रेसमा तरंग ल्याइदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *