प्रचण्डको प्रश्नः हु इज केपी ओली ?
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रश्न नै उठाउन नपाइने प्रधानमन्त्री केपी शर्मा ओली को हुन् भन्दै प्रश्न गरेका छन्। विपक्षी गठबन्धनले शनिबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले प्रश्न गरे ‘हु इज केपी ओली ?’ प्रचण्डले यो प्रश्न अदालतले राष्ट्रपतिबारे प्रश्न उठाउन नपाउने भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रबार दिएको अभिव्यक्तिको सन्दर्भलाई जोडेर गरेका हुन्।
उनले भने, ‘राजाले बनाएको शाही आयोगलाई त अदालतले खारेज गर्यो, राष्ट्रपतिको कामबारे अदालतले प्रश्न उठाउन पाउैन भन्ने हु इज ओली ?’ प्रचण्डले आफूले राष्ट्रपतिभन्दा राजा राम्रो भनेर अभिव्यक्ति नभएकोसमेत बताएका छन्।
यसअघि विपक्षी गठबन्धनको कार्यक्रममा प्रचण्डले ‘राजाको त शान थियो, अहिले राष्ट्रपतिको साना पनि छैन मान पनि छैन’ भनेका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली र उनी निकट नेताहरुले प्रचण्डले राष्ट्रपतिभन्दा राजा ठिक भनेको भन्दै आलोचना गरेका थिए। सोहीबारे प्रष्टीकरण दिँदै प्रचण्डले आफूले राजा ठिक नभएको बताए। उनले राजतन्त्रविरुद्ध लडेको नेताले राजा ठिक भन्नै नसक्ने भन्दै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि व्यंग्यमात्र गरेको प्रष्टीकरण दिए।
कार्यक्रममा प्रचण्डले ओलीले सम्झौतामा हस्ताक्षर गर्ने तर त्यसलाई च्यात्ने गरेकोसमेत आरोप लगाए। उनले भने, ‘हामी त हस्ताक्षर गरेपछि भयो भन्छौं, तर उनी त हस्ताक्षर गर्ने च्यात्ने रहेछन्।’
अर्को प्रसंगमा बोल्दै प्रचण्डले एमालेमा विद्रोह गरेर माधव नेपाल समस्यामा परेको जस्तो देखिए पनि झन ठूलो नेताको भएको विश्लेषण सुनाए। उनले नेता नेपालले लिएको सही नीतिका कारण ठूलो नेता भएको बताए।
Facebook Comment