कर्णालीमा एमालेले प्रदेश सभा बैठक चल्न दिएन

डिसी नेपाल
१३ असार २०७८ १६:२१

काठमाडौं। आफ्ना पार्टीका सांसदहरुलाई मन्त्रीबाट हटाउनुपर्ने माग राख्दै एमालेले कर्णाली प्रदेश सभाको बैठक लगातार अवरोध गरेको छ। आइतबार सभाको ८ औं अधिवेशनको १३ औं बैठक पनि एमालेले अवरोध गर्यो।

बैठक शुरु हुनासाथ एमालेका सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए। सभामुख राजबहादुर शाहीले पार्टीको आन्तरिक विषयलाई सदंसदको विषय नबनाएर बैठक चल्न दिन आग्रह गरे पनि एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले भने आफ्ना मागहरु पूरा नभएकाले बैठक चल्न नदिने बताए। उनले आफूहरुले उठाएको विषय संसदसँगै सम्बन्धित रहेको भन्दै सो आफ्नो माग पूरा हुनुपर्ने बताए।

यही विषयलाई लिएर सभामुख शाही र नेता कँडेलबीच केही समय जुहारीसमेत भयो। त्यसपछि सभामुख शाहीले बैठक आगामी शुक्रबारसम्मका लागि स्थगित गरे। एमालेले लगातार बैठक अवरोध गरेपछि बजेटमाथिको छलफल शुरु हुन सकेको छैन।

एमालेको आन्तरिक विवादका कारण एमालेका तीनजना सांसद माओवादी नेतृत्वको सरकारमा छन्। उनीहरुले राजीनमा दिनुपर्ने एमालेको माग छ। तर मन्त्रीहरुले राजीनामा दिए सरकार अल्पमतमा पर्ने हुँदा मन्त्रीहरुले राजीनामा दिन मानेका छैनन्। एमाले सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा मन्त्री छन्।

यसैबीच मन्त्री रहेका आफ्ना तीनजना सांसदलाई एमाले प्रदेश संसदीय दलले एक महिनाका लागि निलम्बन गरे पनि उनीहरु आइतबारको बैठकमा सहभागी भएका छन्। एमाले संसदीय दलले गरेको निलम्बन प्रदेशसभा सचिवलायले सूचना जारी गरेपछि विवाद हुने देखिएको थियो। सभामुख शाहीले शनिबार डिसी नेपालसँग निलम्बनमा परेका सांसदहरु संसदको बैठकमा सहभागी हुन नपाउने बताए पनि आइतबार भने उनीहरु बैठकमा बसेका थिए। तर, आतइबारको बैठक एमालेले अवरोध गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *