सवारी दुर्घटनामा तीनको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा आज भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उदय, रामप्रसाद र अक्षय गम्भीर घाइते भएका थिए । घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा तीनै जनाको मृत्युभएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।
Facebook Comment