काँग्रेस महाधिवेशन: सुजाता निवासमा पौडेल, सिटौला र सुजाताबीच छलफल

डिसी नेपाल
१४ असार २०७८ १६:५५

काठमाडौं। काँग्रेस महाधिवेशनको मिति नजिकएसँगै नेताहरुको छलफलले तिब्रता पाएको छ। सभापतिका आकांक्षी नेताहरुले छलफललाई तिब्रता दिएका हुन्। साना कोठे बैठकदेखि सामुहिक बैठकहरुसमेत भइरहेका छन्।

यहीबीचमा सोमबार काँग्रेस नेतृ सुजाता कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र कोइरालाबीच छलफल भएको छ।

पार्टीको १४ औं महाधिवेशनबारे छलफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले बैठकको तस्वीरसमेत सार्वजिनक गरेकी छन्।

सो छलफलमा तेस्रो धारको नेतृत्व गरिरहेका सिटौलाको सहभागितालाई अर्थपूर्ण मानिएको छ। १३ औं महाधिवेशनमा दोस्रो चरणमा मतदान हुँदा सभापति शेरबहादुर देउवालाइृ समर्थन गरेका सिटौला हालसम्म रिजर्भ बसेका छन्। तर, सोमबार सुजाता निवासमा भएको यो बैठकमा सिटौलाको सहभागिताले नयाँ सन्देश दिन खोजेको छ। बैठकमा सहभागी एक नेताले सिटौलाले देउवा इतर समूहबाट एकजनामात्र सभापतिको उम्मेदवार बन्नुपर्नेमा जोड दिएको जानकारी दिए। ती नेताले सिटौलाको भनाइ उछृत गर्दै भने, ‘तपाईहरु (पौडेल पक्ष) मिल्नु भयो भने मेरो पनि सहयोग हुन्छ।’

सिटौलाले जसरी पनि देउवालाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। १३ औं महाधिवेशनमा सिटौलाले वरिष्ठ नेता पौडेलालाई समर्थन नगर्दा देउवा विजयी बनेका थिए। पौडेलसँग त्यति राम्रो सम्बन्ध नरहेको मानिएका सिटौलालाई सुजाताले एक ठाउँमा ल्याउने पहल गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

पौडेल पक्षमा आधा दर्जनभन्दा धेरै सभापतिका अकांक्षी छन्। त्यसमाथि महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिसँग दुई पटक लन्च मिटिंग गरेका छन्। उनीहरुबीच तेस्रो बैठकका लाथि सिंह निवासको स्थानसमेत तय भइसकेको छ। त्यसैले सिटौलाले एक उम्मेदवार भए सहयोग गर्ने बताएर वरिष्ठ नेता पौडेललाई सक्रिय हुन सुझाव दिएको ती नेताले जानकारी दिए।

सोमबारको यो छलफलको मुख्य विषय पार्टीको क्रियाशील सदस्यता छानविन रहेको ती नेताले बताए। ती नेताले भने, ‘सभापति पक्षले क्रियाशील सदस्यतामा गडबड गर्न खोजेपछि त्यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल भएको छ।’ क्रियाशील सदस्यताका विषयमा ४२ जिल्लाबाट उजुरी आएको छ। काँग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ। स्थानीय तहमा अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु हुँदैछ। तर, हालसम्म क्रियाशील सदस्यता छानविनको काम सकिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *