एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

डिसी नेपाल
१६ असार २०७८ ८:१५

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले बिहीबारका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने बताइएको छ। केन्द्रीय कमिटी बैठक बोलाएसँगै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुनेछन्।

आज बस्ने बैठकमा नेपाल पक्षका नेताहरू सहभागी हुने सम्भावना कम रहेको छ। आयोजक कमिटीलाई विधानले आफूहरूले नचिन्ने बताउँदै आएका नेताहरू बुधबार सहभागी नहुने नेपालनिकट एक नेताले बताए।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। आयोजक कमिटी भंग भएसँगै बिहीबार बस्ने

केन्द्रीय कमिटी बैठकमा भने माधव नेपाल वरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने एमालेले जनाएको छ। त्यस्तै, अन्य पदाधिकारीहरूको पनि यथावत जिम्मेवारी हुनेछ। यसअघि, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन भएको थियो।

केन्द्रीय कमिटी ब्युँतिएसँगै नेपालसहित ११ जनामाथिको निष्कासनको कारबाही पनि स्वतः निष्क्रिय हुनेछ। एमालेको केन्द्रीय कमिटी भने २०७५ जेठ ३ अनुसार नै हुने बताइएको छ। माओवादीसँग एकता हुनुपूर्व एमालेले २४१ सदस्य रहेको कमिटी बनाएको थियो।

एमालेकै अन्तिम बैठकले थपेका सदस्य तथा सर्वोच्च अदालतको फैसलाबाट नेकपा भंग भएपछि एकताको भावनाअनुसार एमालेमा समाहित भएका २३ जनासहितको केन्द्रीय कमिटी बैठक बस्ने ओलीनिकट नेताहरूको भनाइ छ।

माधव नेपाल पक्ष भने जेठ २ अघिकै केन्द्रीय कमिटी बैठक बसेर त्यसपछि अरूलाई थप्न सकिने बताउँदै आएको छ। तर, अहिलेको एमाले तीन वर्षअघिको नभई एकतासहितको एमाले भएकाले अव्याहारिक र कसैलाई अपमानित हुने व्यवहार गर्नु नहुने संस्थापन पक्षका नेताहरूको भनाइ छ।

जेठ २ मा फर्किएपछि एमालेको पदाधिकारी र स्थायी कमिटीमा दुवै पक्षको हाराहारी शक्ति हुनेछ। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनालको पद पनि यथावत हुनेछ। अहिले दुवैजना निष्कासनमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *