बढ्न थाले कोरोना संक्रमित, पीसीआर परीक्षण गर्ने घटे

डिसी नेपाल
१६ असार २०७८ १७:०७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित संख्या फेरि बढ्न थालेको छ । बुधबार ११ हजार ५६८ जनाको परीक्षण गर्दा २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमित दर २६.३ प्रतिशत पुगेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा संक्रमणदरमा कमि आएपछि खुकुलो बनाएर सार्वजनिक यातायात समेत खुलेको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणदर बढेको हो । बुधबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित फेला परेका छन् । काठमाडौंमा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा थप ४७ संक्रमित भएका छन् ।

संक्रमणदरमा कमि आए पनि पूर्णरुपमा संक्रमण नियन्त्रण भने भइनसकेकाले जोखिम कायमै रहेको प्रवक्ता डा. पौडेलले बताए। ‘संक्रमित केही बढेको छ । जोखिम हटेको छैन,’ उनले भने, ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं ।’

पछिल्लो समय पीसीआर परिक्षण गराउन आउनेको संख्या घटेका छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार अहिले दैनिक सरदर ७ हजार पीसीआर परिक्षण हुने गरेको छ। यो पहिलेको तुलनामा निकै कम हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार अहिले अधिकांश पीसीआर गर्न आउनेहरु लक्षण देखिएर नगरी नहुने भएपछि मात्र आउने गरेका छन्। यसले गर्दा कम पीसीआर परीक्षण हुन थालेको हो। सामान्य लक्षण देखिए परीक्षण गराउन डा. पौडेलले आम नागरीकलाई आह्वान गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ५९७ जना निको भएर घर फर्केका छन् भने ४१ जनाको ज्यान गएको छ। प्रवक्ता डा. पौडेलका अनुसार केही स्थानमा छुटेका विवरण जोडेकाले मृत्युको संख्या बढेका देखिएको हो ।

निषेधाज्ञा खुकुलो भयो भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र भिडभाड गर्ने हो भने संक्रमणदर पुन बढ्न सक्ने बिज्ञहरु बताउँछन्।

धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि शुरु भएको छ। त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणबाट बच्नुपर्ने उनको सुझाव छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर १७ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल ३३ हजार ५६१ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *