‘गुरिल्ला अल्ट्रा ट्रेल रेस’ म्याराथन प्रतियोगिता हुने
काठमाडौं । रुकुम (पूर्व)मा तेस्रो गुरिल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । भूमे गाउँपालिका, रुकुम (पूर्व)को सहयोगमा भूमे युवा विकास केन्द्रले यहि असार २२ गते ‘तेस्रो गुरिल्ला ट्रेल’ म्याराथन आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार जिल्लाको पर्यटन प्रवद्धन र विस्तार गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो । तत्कालिन माओवादीको १० बर्षे सशस्त्र युद्धताका छापामार (गुरिल्ला) हिँडेको गोरेटोलाई रोल्पा, रुकुम, बाग्लुङ र म्याग्दि जिल्ला समेटर केहि बर्ष अगाडि सरकारले ‘गुरिल्ला पदमामार्ग’को रुपमा प्रवद्र्धन गरेको थियो ।
गुरिल्ला अल्ट्रा माराथनका अभियन्ता सुनिल रोकामगरका अनुसार दौड उक्त मार्ग अन्तर्गत रुकुम(पूर्व) भूमे गाउँपालिकाको महतबाट लावा, हुलबाङ हुँदै रोल्पाको गलचोल, जलजला, थवाङ पुगेर भूमेको मारिङबाट महतमा टुंगिने छ । ५२ किलोमिटर लामो दुरीको गुरिल्ला ट्रेल म्याराथनमा पुरुष–महिला दुबैले भाग लिने छन् ।
भूमे गाउँपालिकाका अध्यक्ष राम सुर बुढामगरले पर्यटन प्रवद्र्धनको लागि विभिन्न पर्यटन गतिविधिका साथै खेलकुद प्रतियोगिता गरिएकोमा खुशी व्यक्त गर्दै गुरिल्ला ट्रेल रेस सहासिक खेल भएको बताए । उनले भने, ‘विगतका केहि वर्षदेखि निरन्तर सञ्चालन गरेको म्याराथन दौडले दुई जिल्लाको सम्बन्ध प्रगाढ बनाउने र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने छ ।’
यस वर्ष गुरिल्ला म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुले सहभागिता जनाउने संयोजक रोकामगरले बताए । कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापण्डहरुको पालना गर्दै उक्त प्रतियोगता हुने आयोजकले जानकारी गराए ।
माराथन प्रतियोगितामा दुबै महिला तथा पुरुषतर्फका विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, शान्त्वनालाइ १५ हजार पुरस्कार राखिएको छ ।
२०७५ सालदेखि सुरु भएको ‘गुरिल्ला ट्रेल रेस’ लगातर २ वर्ष आयोजना गरिएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण रद्ध भएको थियो ।
Facebook Comment