एमाले विवादः दोस्रो तहका नेताहरुको वार्ता सकियो

डिसी नेपाल
१७ असार २०७८ ११:३१

काठमाडौं। सत्तारुढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्ष र माधव कुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीचको ललितपुरको समिट होटलमा भएको अनौपचारिक वार्ता सकिएको छ। वार्तापछि दुबै पक्षका नेताहरुले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार बोलाइएको एमाले केन्द्रीय कमिटीको बैठकमा माधव समूहलाई पनि सहभागी गराउने गरी वार्ता भइरहेको छ। तर, हालसम्म ठोस सहमति भने जुटिसकेको छैन।

वार्ता विहीबार अपरान्ह फेरि हुने जनाइएको छ। माधव समूहको स्थायी कमिटीको बैठकपछि फेरि वार्ता हुनेछ। शुक्रबारको केन्द्रीय कमिटी बैठकबारे धारणा बनाउन माधव समूहको स्थायी कमिटीको बैठक बस्न लागेको हो।

समिट होटल वार्तामा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भिम आचार्य र घनश्याम भुसाल लगायतका नेताहरु सहभागी रहेका थिए ।

संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सम्झाउन आग्रह गरेका छन्। ‘सहमतिको नजिक पुगेको बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौं’ ती नेताले भने।

नेपाल पक्षको बैठकले नै पार्टीमा सहमती गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अपेक्षा संस्थापनको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *