नेपालको उदाहरण दिँदै अमेरिकाले भन्यो–‘कोरोनाले मानव तस्करलाई उपयुक्त वातावरण बनायो’

काठमाडौं। संयुक्त राज्य अमेरिकाले बिहीबार एक रिपोर्ट जारी गर्दै कोरोनाभाइरस महामारीले मानव तस्करहरुको लागि ‘उपयुक्त वातावरण’ बनाइदिएको बताएको छ । महामारीको समयमा सरकारहरु स्वास्थ्य संकटसँग जुध्ने काममा केन्द्रित हुँदा सरकारको मानव तस्करी रोक्ने कामबाट ध्यान हट्न गएको र यो मौकामा तस्करहरुले जोखिममा रहेका मानिसहरुको फाइदा उठाएको रिपोर्टमा उल्लेख छ ।
अमेरिकाको विदेश विभागको ‘२०२१ ट्राफिकिङ इन पर्सन्स रिपोर्ट’ मा यस्तो उल्लेख छ । रिपोर्टमा नेपाल टायर २ मा छ । रिपोर्टमा देशहरुलाई मानव तस्करीसम्बन्धी कानुन ‘ट्राफिकिङ भिक्टिम प्रोटेक्सन एक्ट’ (टिभीपीए) का सबै मापदण्ड पूरा गर्ने देशहरुलाई टायर १, टिभीपीएका सबै मापदण्ड पूरा नगरेका तर यहाँसम्म पुग्नका लागि उल्लेख्य प्रयास गरेका देशहरुलाई टायर २ मा राखिएको छ ।
यस्तै टिभीपीएका मापदण्ड पूरा गर्न प्रयासरत भए पनि तस्करीको जोखिममा भएका वर्गको बढ्दो संख्या भएका वा गत वर्षको तुलनामा यस वर्ष यस किसिमका प्रयास बढाइएको प्रमाणित गर्न विफल देशहरुलाई टायर ३ वाच लिस्टमा र टिभीपीएका मापदण्डहरु पूरा नगरेका र यी मापदण्ड पूरा गर्न पर्याप्त प्रयास समेत नगरेको देखिएका देशहरुलाई टायर ३ मा राखिएको छ ।
नेपालको हकमा रिपोर्टमा लेखिएको छ ‘नेपाल सरकारले मानव तस्करी रोक्नका लागि सबै न्यूनतम मापदण्डहरु पूरा गरेको छैन तर यी मापदण्ड पूरा गर्नको लागि उल्लेख्य प्रयासहरु गरिरहेको छ । सरकारको तस्करीविरुद्धको क्षमतामा कोभिड–१९ को गम्भीर प्रभाव परेको भए पनि सरकारले अघिल्लो रिपोर्टिङ अवधिको भन्दा यस वर्ष बढ्दो प्रयासहरु देखाइरहेको छ । त्यसैले नेपाल टायर २ मै रहेको छ ।’
नेपालले वैदेशिक रोजगारीका लागि नेपालीलाई पठाउने क्रममा भ्रष्टाचारमा संलग्न रहेका अधिकारीहरुलाई कारवाही गर्नु, महिलाहरुलाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाइएका केही देशमा प्रतिबन्ध हटाउनु र यस सम्बन्धी जनचेतनाका काम बढाउनुलाई नेपालको सकारात्मक पक्ष मानिएको छ ।
वार्षिक रिपोर्ट जारी गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले विश्वभरी करिब अढाइ करोड मानिसहरु अनुमानित रुपमा तस्करीका पीडित रहेको बताए । ‘कैयौंलाई व्यवसायिक यौनकार्यमा लगाइएको छ’ ब्लिंकेनले भने ‘अरु धेरैलाई कारखानामा काम गर्न, खेलमा काम गर्न वा सशस्त्र समूहमा सहभागी गराइएको छ ।’ यो विश्वव्यापी संकट भएको बताउँदै उनले भने ‘यो मानिसहरुलाई पीडित पार्ने ठूलो कारण हो ।’
विदेश विभागको रिपोर्टमा कोभिड–१९ महामारीले तस्करीको जोखिममा रहेका मानिसहरुको संख्या बढाउने र तस्करी रोक्न पहिल्यै अपनाइएका वा लागू गर्ने योजना बनाइएका मापदण्डहरुलाई बाधा पार्ने परिस्थिति सृजना गरेको उल्लेख छ । ‘विश्वभरीका सरकारहरुले आफ्ना स्रोत र साधनलाई महामारीतर्फ स्थानान्तरण गर्नुपरेको छ । तस्करी रोक्ने कामका लागि छुट्याइएको खर्च समेत स्थानान्तरित भएका छन्’ रिपोर्टमा भनिएको छ ।
‘यही समयमा मानव तस्करहरुले यी जोखिमका अवस्थाहरुको तत्कालै फाइदा उठाइरहेका छन्’ रिपोर्टमा उल्लेख छ । अफिस टु मनिटर एण्ड कम्ब्याट ट्राफिकिङ इन पर्सनकी कार्यकारी निर्देशक केरी जोनस्टोनका अनुसार यी कठिन परिस्थितिहरुले तस्करहरुका लागि उपयुक्त वातावरण बनाइदिएका छन् । ‘यी विभिन्न तत्वहरुको संयोजनले मानव तस्करीलाई फस्टाउन र विकसित हुन सहयोग गरिरहेका छन्’ उनले भनिन् ।
रिपोर्टमा नेपाल र भारतको उदाहरण दिँदै भनिएको छ ‘भारत र नेपालमा गरिब र दुर्गम गोत्रका किशोरीहरुलाई आर्थिक संकटको यो समयमा स्कुल छोडेर परिवारलाई सहयोग गर्न भनिन्छ । केहीलाई पैसाको बदलामा जबरजस्ती बिहे गर्न बाध्य पारिन्छ । अन्यलाई परिवारको गुमेको आय परिपूर्ति गर्नको लागि काममा जान बाध्य पारिन्छ ।’ अमेरिकाजस्ता देशहरुमा भाडा तिर्न नसक्नेलाई, खासगरी महिला घरबेटीले शारीरिक सम्बनधको लागि बाध्य बनाएका थिए भने केही देशका आपराधिक गिरोहहरुले घरबाट विस्थापित भएर शिविरमा रहेकाहरुलाई निशाना बनाएका थिए ।
रिपोर्टमा अघिल्लो वर्ष टायर १ मा रहेका ६ देशहरु साइप्रस, इजरायल, न्यूजिल्याण्ड, नर्वे, पोर्चुगल र स्विट्जरल्याण्ड डाउनग्रेड भएर टायर २ मा झरेका छन् । गिनी बिसाउ र मलेसिया सबैभन्दा खराब बर्ग टायर ३ मा झरेका छन् । टायर ३ मा यसअघि नै अफगानिस्तान, अल्जेरिया, चीन, कोमोरोस, क्युबा, इरिट्रिया, इरान, म्यानमार, निकारागुआ, उत्तर कोरिया, रुस, दक्षिणी सुडान, सिरिया, तुर्कमेनिस्तान र भेनेजुएला छन् । अघिल्लो वर्ष टायर ३ मा रहेका ४ देशहरु बेलारुस, बुरुण्डी, लेसोथो र पपुआ न्यू गिनी टायर ३ बाट माथि उक्लिएर टायर २ वाच लिस्टमा आएका छन् ।
Facebook Comment