काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधानोन्मुख, प्रक्रिया पुगेका सबैले सदस्यता पाउने

डिसी नेपाल
१८ असार २०७८ २०:४९

काठमाडौं। नेपाली काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानोन्मुख देखिएको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाएपछि विवाद समाधानको दिशामा अगाडि बढेको हो।

शुक्रबार पार्टी मुख्यालय वीपी स्मृति भवन सानेपामा बसेको पदाधिकारी बैठकले प्रक्रिया पूरा गरेर आएका सबैलाई क्रियाशील सदस्यता दिइने मापदण्डमा सहमति जुटेको छ। यसअघि देशका करिब ४४ जिल्लाका करिब ५ सय वडाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा उजुरी आएको थियो।

पदाधिकारी बैठकले नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने मापदण्ड बनाएको छ। विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पुरा गरेर आएकाहरुको पनि सदस्यता स्वीकृत गर्ने पदाधिकारी बैठकले निर्णय गरेको छ। जिल्ला र वडा स्तरमा देखिएको विवादका विषयमा भने फेरि सहमति जुटाउने प्रयास गर्ने सहमति नजुटे छानबिन समितिले कागजात हेरेर निर्णय गर्न सकिने मापदण्ड बनाइएको छ।

प्रक्रिया पूरा गरेकालाई सदस्यता दिने सहमति भएपछि अब विवाद समाधानको दिशामा अगाडि बढेको सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिएका छन्। काँग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौं हुँदैछ। क्रियाशील सदस्य काँग्रेसका प्रारम्भिक मतदाता हुन्। क्रियाशील सदस्यले वडा समिति, स्थानीय तह समिति चयन गर्छन् भने क्षेत्रीय प्रतिनिधिसमेत क्रियाशील सदस्यले चयन गर्छन्। क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति र जिल्ला कार्यसमिति चयन गर्छन्।

आगामी साउन १२ गतेदेखि काँग्रेसको स्थानीय स्तरमा अधिवेशन शुरु हुँदैछ। त्यसअघि नै क्रियाशील सदस्यता वितरण तथा नवीकरण सक्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *