एमाले बैठक बालुवाटारमा जारी, महाधिवेशनबारे निर्णय हुने

डिसी नेपाल
१९ असार २०७८ १६:२१

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। शुक्रबार शुरु भएको बैठक शनिबार दोस्रो दिन पनि बसेको हो। बैठकमा माधव नेपाल समूह भने सहभागी छैन।

शनिबारको बैठकमा पार्टी महासचिब ईश्वर पोखरेलले पार्टीको संगठनात्मक प्रतिवेदन पेश गरेका छन्। शनिबार सोही प्रतिवेदनमाथि छलफल चलिरहेको छ। बैठकले आगामी महाधिवेशन, पार्टीको विधान, संगठित सदस्यतालगायतका विषयमा निर्णय गर्ने जनाइएको छ। यसअघि खारेज गरिएको महाधिवेशन आयोजक कमिटीले मंसिरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो। तर, अब त्यस अगाडि नै महाधिवेशन गर्ने मिति तोकिने संकेत प्रवक्ता प्रदीपकुमार ज्ञवालीले शुक्रबार नै गरेका थिए।

शुक्रबार बसेको बैठकले माधव समूहलाई सोमबारसम्म सर्वोच्च अदालतमा दायर रिटमाथिको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिने निर्णय गरेको थियो। त्यसलाई माधव समूहले सकरात्मक रुपमा लिएको छैन।

शनिबार पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ। तर, यो फोन वार्ता पनि सकरात्मक नरहेको दुबै पक्षले प्रतिक्रिया दिएका छन्।

शनिबारको बैठकपछि नेकपा भित्रको आन्तरिक विवादले नयाँ मोड लिने अनुमान गरिएको छ।

यसअघि अध्यक्ष ओलीको कदमको विरोध गर्दै टाढिएका उपाध्यक्ष वामदेव गौतम भने शुक्रबारदेखि बैठकमा सहभागी भएका छन्। उनले आफू ओलीसँगै रहेकोसमेत बताएका छन्। उनले शुक्रबार बैठकमा पार्टी मिलाउने जिम्मेवारी आफू दिए पार्टी मिलाउनेसमेत बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *