महाधिवेशन नगराएर कलंकको टीका लगाउँदिन, बरु हार्छुः देउवा

डिसी नेपाल
१९ असार २०७८ १७:१५

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउन अब दुई महिनाभन्दा कमको समय बाँकी छ। भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय भएर त्यसअनुसार कामहरु धमाधम भइरहे पनि कतिपय काँग्रेस नेताहरुले महाधिवेशन नहुने हो कि भन्ने आशंका गरिरहेका बेला सभापति शेरबहादुर देउवाले भने महाधिवेशन जसरी पनि हुने बताएका छन्।

शनिबार बुढानिलकण्ठमा आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँगको छलफलमा महाधिवेशन नगराएर आफूले कलंकको टीका नबोक्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनले देउवालाई उद्धृत गर्दै डिसी नेपालसँग भने, ‘महाधिवेशन नगराएर कलंकको टीका लगाउँदैन, तपाईँहरु जसलाई जे जिम्मेवारी छ सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्।’ देउवाले बरु आफू हार्न तयार रहेको तर महाधिवेशन जसरी पनि गर्ने बताएका थिए।

त्यसो त देउवाले यसअघि पनि जसरी पनि महाधिवेशन गर्ने भन्दै कलंकको टीका नलगाउने बताउँदै आएका छन्। तर, पनि काँग्रेस नेताहरु महाधिवेशनप्रति त्यति ढुक्क देखिएका छैनन्। आगामी महाधिवेशनमा पदाधिकारीमा चुनाव लड्ने तयारी गरिरहेका एक नेताले डिसी नेपालसँग भनेका थिए, ‘बाहिर भन्नु भएन, मैले त महाधिवेशन हुने छाँट देखेको छैन।’ काँग्रेसका पदाधिकारी स्तरकै नेताहरु ढुक्क हुन नसकिरहेका बेला शनिबार बुढानिलकण्ठ छलफलबाट देउवाले जसरी पनि महाधिवेशन हुने सन्देश दिएका हुन्।

देउवाले आफू फेरि सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन्। उनले सातै प्रदेशका नेताहरुसँग प्रदेशस्तरीय छलफल सकेपछि सानो समूहमा पनि छलफललाई तिब्रता दिएका छन्। सोही क्रममा शनिबार पनि छलफल भएको हो।

शनिबारको छलफल क्रियाशील सदस्यताका विषयमा केन्द्रित रहेको बैठकमा सहभागी अर्का नेता सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए। उनले भने, ‘क्रियाशील सदस्यताबारे हिजो (शुक्रबार) भएको सहमति अनुसार अगाडि बढ्न भन्नु भएको छ। क्रियाशील सदस्यताको विषय टुंिगएपछि महाधिवेशनमा कुनै समस्या हुँदैन।’

शुक्रबार भएको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका लागि मापदण्ड तय गरेको छ। प्रक्रिया पुगेका सबैको सदस्यता स्वीकृत गर्ने, विवाद भएका सदस्यताहरुमा आपसी सहमति गर्ने सहमति नभए स्थगित गरेर अगाडि बढ्ने मापदण्ड बनाइएको छ। बुढानिलकण्ठमा शनिबार भएको छलफलमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेशह लेखेकले छानबिन समितिको कामबारे ब्रिफिङ गरेका छन्। उनले ३० जिल्लाको सदस्यता प्रकाशित गर्न लागिएकोसमेत जानकारी दिएका छन्।

आइतबारसम्म क्रियाशील सदस्यताको विषय टुंगो लगाउने भनिए पनि सो मितिमा भने टुंगो नलाग्ने देखिएको छ। तर, विवाद नभएका जिल्लाहरुको सदस्यता छाप्ने काम शुरु भएकाले केही दिनमै सबै टुंगो लाग्ने सहमहामन्त्री डा. महतले दावी गरे।

क्रियाशील सदस्य नै महाधिवेशनको प्रारम्भिमक मतदाता हुन्। क्रियाशील सदस्यले वडा तथा स्थानीय स्तरको कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन गर्छन्। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गर्छन्। त्यसैले क्रियाशील सदस्यताको विषय निकै पेचिलो बन्ने गर्छ। काँग्रेसले यो पटक १० लाख क्रियाशील सदस्यता पुर्याउने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *