एमालको विधान महाधिवेशन साउन २५ मा गर्ने निर्णय, चुनावको तयारीमा जुट्न निर्देशन

डिसी नेपाल
१९ असार २०७८ १८:४१

काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशन आगामी साउन २५ देखि २७ सम्म काठमाडौंमा हुने भएको छ। शनिबार बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको मिति तोकेको हो। महासचिब ईश्वर पोखरेलले पेश गरेको सांगठनिक प्रस्ताव पारित गर्दै बैठकले विधान महाधिवेशनको मिति तोकेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार असार मशान्तसम्म संगठित सदस्यता नवीकरण गर्ने र साउन ५ सम्म विवरण केन्द्रमा पठाउने निर्णय भएको छ।

यस्तै भदौ ५ मा वडा अधिवेशन र भदौ २५ मा स्थानीय तह (नगरपालिका–गाउँपालिका)को अधिवेशन गर्ने निर्णय गरिएको छ।

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले याे वर्ष चुनाव नै चुनाव हुने भएकाले पार्टीका सबै तहलाइ चुनावकाे तयारीमा जुट्न निर्देशन दिइएकाे जानकारी दिए। संसदीय र स्थानीय तहकाे चुनावका लागि तयारी रहन भनिएकाे उनले बताए।

विधान महाधिवेशनको मिति तोकिएसँगै नेताहरुको जिम्मेवारी पनि तोकिएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनमा पेश हुने राजनीतिक प्रस्तावको जिम्मेवारी लिएका छन्। त्यस्तै महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनको जिम्मेवारी पाएका छन् भने उपमहासचिब विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रतिवेदन र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने बताएका छन्।

बालुवाटारमा भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर फिर्ता हुँदैन उनीहरु एमाले नरहने बताएका हुन्। उनले पार्टीलाई ढाल्ने विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने बताएका हुन्।

सर्वोच्चमा विचाराधीन यो मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ भने अब ६ घण्टाको बहसमात्र बाँकी छ। सर्वोच्चमा यो मुद्दामा अब छिटै फैसला आउँदैछ। यसअघि एमालेको शुक्रबार बसेको बैठकले रिटमा हस्ताक्षर गर्ने २३ जना नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिएको थियो।

तर, रिटमा हस्ताक्षर गरेको माधव समूहले भने हस्ताक्षर फिर्ता नलिने बताइसको छ। शनिबार नै ओली र नेपालबीच भएको टेलिफोन वार्ता पनि नेपालले हस्तक्षर फिर्ता नलिने बताइसकेका छन्। बैठक शुक्रबार शुरु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *