नेपालको ठूलो चासो जोडिएको भारतीय राज्यमा मन्त्री नै नभएका युवा मुख्यमन्त्री बने

डिसी नेपाल
२० असार २०७८ १६:५६

काठमाडौं। बहुमत भएर पनि लगातार अस्थिरताको सामना गरिरहेको भारतको उत्तराखण्ड राज्यको भाजपा सरकारले शनिबार फेरि नयाँ मुख्यमन्त्री पाएको छ । योसँगै पछिल्लो ४ महिनामा उत्तराखण्डमा तेस्रो नयाँ मुख्यमन्त्री आएका छन् । गएको मार्च १० मा ४ वर्षदेखिका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत हटेर तीरथ सिंह रावत आएका थिए । उनी पनि ११६ दिनमै हटे र अब नयाँ मुख्यमन्त्री पुष्कर सिंह धामी आएका छन् ।

भारतको उत्तराखण्ड राज्य नेपालको ठूलो चासो जोडिएको राज्य हो । उत्तराखण्डसँग नेपालको अन्तर्राष्ट्रिय सीमा जोडिन्छ । हुन त नेपालको सीमा भारतका ४ राज्यहरुसँग जोडिन्छ । पश्चिममा उत्तराखण्ड, दक्षिण पश्चिममा उत्तर प्रदेश, दक्षिण पूर्वमा बिहार र पूर्वमा पश्चिम बंगालसँग सीमा जोडिन्छ । सीमा जोडिनेबाहेक उत्तराखण्डसँग नेपालको महत्वपूर्ण चासो कालापानी, लिपुलेक र लिम्पियाधुरा हुन् ।

यी क्षेत्र भारतले आफ्नो देशमा उत्तराखण्ड राज्यमा पर्ने दावी गर्छ । नेपालले यी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेर नयाँ नक्शा प्रकाशित गरिसकेको छ तर भारतले यसको विरोध गर्दै आएको छ । यसअघि त्रिवेन्द्र सिंह रावतको उत्तराखण्ड सरकारले नेपाली एफएम रेडियोले भारतीय भूमिमा बस्नेहरुलाई भ्रमित पारेको भन्दै उता पनि रेडियो खोल्ने बताएको थियो । यसबाहेक उत्तराखण्ड सरकारले सीमा क्षेत्रका जनतालाई प्रशिक्षित गर्ने पनि तयारी गरेको थियो । उत्तराखण्ड सरकारका यी कदमहरुले नेपाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्नेछन् ।

अहिले बनेका मुख्यमन्त्री धामी निकै कम उमेरका छन् । त्यसमाथि उनी पिथौरागढमा जन्मिएका हुन् जुन नेपालको सीमासँग जोडिन्छ । र, उनले खतिमाबाट चुनाब जितेका हुन्, यो क्षेत्र पनि नेपालसँग जोडिन्छ । पिथौरागढमा जन्मिएका पुष्कर सिंह धामी राज्यका सबैभन्दा कम उमेरका मुख्यमन्त्री भएका छन् । २ पटक विधायकको चुनाब जितेका धामी अहिलेसम्म उत्तराखण्ड सरकारमा मन्त्री पनि भएका थिएनन् तर उनी सिधै मुख्यमन्त्री बने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *