सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू
चितवन । राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ ।
पूर्व पश्चिम राजमार्गको लोथरपुलदेखि डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम प्रसाद अधिकारीले बताए।
आज साँझ ७ः३० बजेदेखि जारी गरिएको कर्फ्यू बुधबार साँझ ७ः३० बजेसम्म रहनेछ ।
जिल्लाको राप्ती नगरपालिका—३ का २३ वर्षीया सुजिता भण्डारीको शव जङ्गलमा फेला परेपछि स्थानीयवासीले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
भण्डारीको शव भेटएको तीन दिनसम्म प्रहरीले हत्या वा आत्महत्या केही बताउन सकेको छैन। ९ दिन अघि घरबाट तरकारी लिन साथीको घर जान्छु भन्दै निस्केकी सुजिता जंगलमा मृत फेला परेकी थिइन्।
उनी हराएपछि प्रहरीलाई समयमै खबर गरेको भएपनि उनी फेला पर्न सकेकी थिइनन्। समयमै प्रहरी परिचालन नभएको भन्ने गुनासो रहेका कारण प्रहरीले आत्महत्या र अपहरणपछिको हत्या दुवै विषयमा अनुसन्धान गरिरहेको छ।
Facebook Comment