निटोगद्वारा क्वारेन्टिन मुक्त पर्यटन नीतिको माग

काठमाडौं । पछिल्लो समय विदेशबाट आगमन हवाई यात्रुप्रति नेपाल सरकारले लागू गरेको अनिवार्य होटेल क्वारेन्टिन नीतिप्रति नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ(निटोग)ले आपत्ति जनाएको छ । निटोगले विज्ञप्तीमार्फत विदेशबाट आउने पर्यटकले खोप लगाएको अथवा कोरोना नेगेटिभ भएको प्रमाणसहित नेपाल प्रवेश गर्ने हुनाले पर्यटकहरुलाई अनिवार्य क्वारेन्टिन नराख्न माग गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘एयरलाइन्सले हवाई यात्राको लागि यात्रुको चेक इन गर्नु अघि पछिल्लो ७२ घण्टाभित्रको व्यक्तिको फोटो र बारकोड–क्यूआर कोडसहितको कोभिड १९ परिक्षणको नेगेटिभ रिर्पोटको प्रमाणसमेत अनिवार्य गरेको छ । यसरी कोभिड १९ परीक्षणको नेगेटिभ रिर्पाेटको प्रमाणपत्र भएको यात्रुमात्र नेपाल आउन पाउने व्यवस्था हुदाँहुदै पनि विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धि आदेश २०७८, दफा ४ मा ७ दिन होटेल क्वारेन्टिनको बाध्यात्मक परिस्थिति सृजना गरेको छ ।’
त्यस्तै, ‘अधिकांस पर्यटकहरु (हिमाल आरोहणको लागि आउने बाहेक) २ हप्ताको छोटो समय लिएर नेपाल आउने गर्दछन् । यसरी नेपाल आउने पर्यटकलाई ७ दिन होटेल क्वारेन्टिन अनिवार्य गरेपछि १ हप्तामा कहाँ घुम्ने ? क्वारेन्टिन बस्न नेपाल किन जाने? भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।’
निटोगले पर्यटकीय इतिहास बोकेका र पर्यटन उद्योगलाई अर्थतन्त्रको मेरुदण्ड मानेका देशहरुले क्वारेन्टिनमुक्त पर्यटन नीति अवलम्बन गरिसकेकाले नेपालले पनि थला परेको पर्यटन उद्योगलाई माथि उठाउन सोही नीति अपनाउन आग्रह गरेको छ ।
साथै, सरकारले तोकेको मापदन्ड पूरा गरी नेपाल भित्रिने पर्यटकहरुलाई ७ दिनको अनिवार्य होटेल क्वारेन्टिन व्यवस्था हटाई पर्यटन उद्योगलाइ पुनःस्थापना गर्न निटोगको माग छ ।
Facebook Comment