कथा : प्यासको सिलसिला …

डिसी नेपाल
२६ असार २०७८ ७:५५

गोफ्ले आज निरास छ। सधै सबैलाई थर्काउने, ध्वाँस दिने गोफ्ले आज सबैको अगाडि हारेको र आफैसँग गिरेको अनुभूति गर्दै सुक्सुकाउँदै छ। स्रोहखुट्टे पाटीमा सबै जम्मा भएका छन्। भलाद्मीहरु खासखुस गर्दैछन्। के गर्ने? कसो गर्ने? छलफल शुरु भएको छ।

मौनता भित्र लज्जा मिसिएको छ। समाजमा अन्योलता छ। गोफ्लेको अनुहार चहकिलो छैन्। मलिन र युद्ध हारेको योद्धा झै मुख घोप्ट्याएर बसेको छ।

ल भन् के भो आज गोफ्ले भन्दै सबै बोल्न थाले। जिम्माल बाले आजको छलफल सुरु भो सबै दाजुभाइले हिजोको घटना बिस्तार गर्न म गोफ्लेलाई भन्छु भन्ने आदेश जारी गरे। आँखा भरी आँसु र भित्रैबाट पराजित मनस्थितीमा देखिन्छ गोफ्ले। सकि नसकी उभिदै बोल्न थाले तर स्वर निस्केन। रुन पो थाले गोफ्ले त। सबैले सम्झाए हामी छौं पिर नगर, नडराउनु । जे भन्नु छ भन के भो हिजो?

थुक सुकाउँदै छ गोफ्ले। बोल्न थाल्यो बल्ल। हिजो जगंलमा वन फडानी हुँदै थियो। मैले देखेपछि जङ्गल भित्र पसेँ। रुख काट्नेहरुलाई लखेट्दै जाँदा जङ्गलको लन्थासी नजिकै पुगेपछि चार जना महिला र पाँच जना पुरुषले ठूलो रुख काटदै रहेछन्।

उनीहरु पनि म तिर जाई लाग्न थाले दुबै ठाउको जम्मा भएर मलाई समाते कुटे र रुखमा बाँधेर दाउराले खुट्टामा, ढाडमा निक्कै बेर हाने म एक्लो केही गर्न सकिन चिच्याएँ तर कसैले सुनेन्। उनीहरुले मलाई समाते, तलाई मारीदिन्छु भन्दै हिँडे। अब वन तिर न आउनु भन्दै गए। आए राम्रो हुन्न भन्दै थिए।

म अब यो वनपालेको काम गर्दिन। ज्यानको प्रवाह नहुने रहेछ। म एक्लै मान्छे अनि कसरी सकिन्छ र ? वन मासेर सकिने भो वन सकेपछि पानी सकिन्छ। हरियाली सक्छ। सबै यही वन मास्ने मात्रै छन जोगाउने कोही छैन। हिजोलाई जे भो भो त्यो मान्छे समाई कारवाही गर्नु पर्यो पञ्चायतले। छ गाउँका मानिसको घाँस दाउराको आश्रित वन यही छ। ठुला रुख काटदै छन दिनहुँ।

वन पातलिन थालेको छ। बिचरा एउटा वन पालेले मात्र के गर्न सक्नु? तै पनि कडा मिजासका गोफ्ले दिनहुँ वन हेर्छन। जोगाउन उसको ठूलो भूमिका छ। सधैं घाँस र पतकर मात्र लिए त हुन्थयो नि।

राम्रो र ठूलो रुख ढाल्छन्। बुट्यान मात्र बाँकी हुने बेला भयो। वनको संरक्षकत्व पञ्चायतको हो। तर पञ्चायतले एउटा पालेको भरमा छोडेको छ। लामो बहस पछि गोफ्लेको कुरा नै सबैले स्विकारे र वन जोगाउन, पानीको बजारमा ब्यबस्थापन गर्ने सहमति गरे ।

खानेपानी धाराबाट लिने, नुहाउन र लुगा धुन वन र खोल्सा तिर जाने। जुगेपानी, दर्शनधारा, तिनधारा, लन्थासी, वतिकटे कुवा, महादेवथान, खुवाई हिटिमा जाने जुद्ध धाराबाट खानेपानीको आपूर्ती मात्र लिने दिने र जङ्गलको संरक्षण गर्न प्रशासनको सहयोग लिने निर्णय भयो।

तर गोफ्लेलाई त्यति मन परेको थिएन। वन मास्नेलाई खोजेर कार्वाही गर्नु पर्छ। म अब एक्लै जङ्गल जान्न भन्ने कुराको जवाफ नपाएर उसको असन्तुस्टी थियो। जङ्गलमा वन मास्नेहरुले गरेको कुटपिटको विरुद्धमा कडाइका साथ लाग्नुपर्छ भन्ने राय थियो उनको।

सबैले त्यसमा सहमति जनाउँलान भन्ने थियो गोफ्लेलाई। जङ्गलमा गरेको सबै घटनामा खासै ध्यान नदिएको झै भान भयोे गोफ्लेलाई। तर जिम्मवालले त्यस्तो होइन हामी आवस्यक सुरक्षाको लागि प्रशासन कार्यालयमा परिपत्र गर्छौ र तपाईलाई पनि आवस्यक सहयोगी थप्छौ भने पछि बल्ल मौन सहमति जनाए।

पानीको अभाब बढिरहेको छ बजारमा। सधैं एक सयदेखि दुई सय गाग्री लाईनमा हुन्थे धाराको अगाडि। दिनहुँ झगडा महिलाहरुको। कोही कोहीको कपाल भुत्ल्याउनु, एक दुई दिन बिराएर झगडा नभएको हुन्नथ्यो। पानीको ब्यबस्थापन कठिन हुँदै गई राखेको छ।

नयाँ जिम्मेवारी थपिएको छ। गोफ्लेलाई अब उपरान्त सातवटै जुद्धधारामा लुगा धुने र नुहाउन नपाउने नियम गाउँ पञ्चायतले लगाएको छ। र धारामा मात्र खानेपानी लिन पाउने छ। बिहान छ बजेदेखि दश बजेसम्म धारा आउने र साँझ चार बजे देखि राति आठ बजे सम्म खानेपानी वितरण हुन थाल्यो।

अरु समय धरा बन्द भए। तर कुनै पनि धारामा दुई तीन सय घटी गाग्री हुन्न थियो। मुख धुने र कोइलाले दाँत माझ्ने, कोही कोहीले दत्तिवनले नि माझ्थे। तर धेरैले कोइला नै प्रयोग गर्थे। पछि पछि रातो धुलो दन्त मन्जन पनि आउन थाल्यो त्यो बजारमा हत्तपत्त पाउँदैन।

काठमाडौं वा बाहिरबाट आएकाहरुले प्रयोग गर्थे। करुवा, पुजा थाली, गाग्री धेरैले बोकेर आउँथे। जिल्ला सदरमुकाम भएकोले कर्मचारी र पुलिसका श्रीमतीहरु डराई डराई पानी थाप्थे। किन कि भाषा नबुझ्नु र नयाँ भएकाले अलि अफठ्यारो मान्थे।

हामी बच्चा केटाहरु शनिबार आफ्नो लुगा लिएर कहिले तिनधारा, लन्थासी कहिले दर्शन धारा र जुगे धारा जान्थ्यौं। नुहाउने अनि हप्ताभरिको जुत्ता मोजा सर्ट पाइन्ट धुन्थ्यौं। त्यसताका घर–घरमा शौचालय थिएन हामी बारीको पाटामा शौच गर्न जान्थिउ।

महिलाहरु बिहानै चार बजे उठेर क्वाच्चा, रान्ना पुखु, पिपलबोट र हखङ्ग पुहु मुनि जान्थे। धेरै जसो मान्छेहरु सडक किनारमै बिस्ट्याउँथे। फोहर अनि पानीको अभावले झाडा पखाला र हैजा लागेर धेरै मानिस मर्थे। मानौ शहरको पानीले सबै भन्दा ठूलो अभाव भोग्दै आएको छ।

बजारमा पुरानो ढुङ्गा बिच्छ्याएकाले हिँड्न अफठ्यारो थियो। कार्तिक मंसिर आँगन आँगनमा आफ्नो धान सुकाउने कहिले काँही ठाउँ पाइँदैनथ्यो। हामी बिहान स्कुल जानु अघि, साँझ र राति धान छोपेको माथि सुरी खेल्थेउ। राति धान चोर्छ भनेर केटाहरु धान कुरेर बस्ने गर्थे रातभर। गित गाउने, कथा भन्ने।

राति अबेरसम्म एक त रमाइलो साथीहरु सँग अर्को डर भगाउन। किन भने रातभरी आँगन र चोकमा सुत्न गाहे थियो। अनि राति धान चोर्न आउंने गर्थे त्यसको रखवाली पनि हुन्थ्यो हाम्रो धान कुराई। हप्तौ धान सुकाउने काम हुन्थे। फलामको धान तान्ने र ओल्टाउने र पल्टाउने काम आमा, हजुरआमा, काकी र भाउजूहरुले गर्थे। वरपर बसेर निफन्ने र भुस हटाउँथे।रमाइलो हुन्थ्यो तीनताका हाम्रो बाल मनस्थितिलाई।

मनोरञ्जनको अरु साधन थिएन। शनिबार आए पिच्छे पाइपको घर्घच्चा बनाउँथे साथीभाई खेल्दै कहिले टुँडिखेल कहिले शिशापाखा र अरनिको राजमार्गको पक्कुच्चा, भमरकोटसम्म पुग्थे। कहिले बुडोल खेल्दै पुगेका हुन्थे। सिमी, गुच्चा, खोप्पी र डन्डीबियो र पित्ता खेरेर लाखलाखको जित हार गर्थे।

चुरोटको बट्टालाई पैसा मानेर खेल्थे। लालीगुँरासको एक रुपैयाँ पनामा चुरोटको बट्टा दश, गैंडा चुरोटको बट्टा पचास, याक चुरोटको सय पाँच सय, पच्पन्नको एक हजार भन्दै खेल्थे। दिन साँझ र बिहान यसरी नै बिताउने गर्थे। गुच्चा खेल्दै र्कुकुच्चामा हान्ने र टाढाटाढा सम्म दुरी कायम हुन्थ्यो। बाल खेलकुद धेरै मज्जा आउँथ्यो।

धारामा दिनहुँ झगडा भै रहन्थो। क–कसको आमा कसको दिदी कसैको भाउजूहरु पानी लिने र दिने निहुँमा झगडा हुँदा गोफ्ले आएर मिलाउँथे। उसले हामी बच्चाहरुलाई तह लगाउने गथ्र्यो। हामीलाई आफू भन्दा ठूलाले अचराङ्ग काम गरे गोफ्ले बोलाउ भनेर थर्काउने गर्थे।

हामी पनि डराउँथ्यौ उसँग। नजिकै परे आँखा ठूलो–ठलो पारेर मारौला झै थर्काउने र कहिलेकाँही कुटपिट पनि गर्थे, मानौं सोले फिल्मको गब्बर सिङ्ग झै्र लाग्थो हामीलाई । महिलाहरुले धारामा नुहाए, लुगा धोए भने बाटा, आरी, गाग्री उठाएर लैजान्थे। उसलाइ पन्चायतले त्यहि जिम्मा दिएको थियो। पानीको जोहो, मुहान रेखदेख र वन जोगाउने।

हामी चाहिँ जिस्काउँथ्यौं गोफ्लेलाई। गोफ्ले आयो भने हामी उरन्ठेउलाहरु जिस्काउँदै भाग्थ्यौं। बजारमा हामीलाई थर्काउने, जङ्गलमा तर्सिने गोफ्ले बुढा भन्दै भाग्थ्यौं। भेट्टाएर समाते मारी हाल्थे बुढाले।

एक दिन अचम्मै भयो। गोफ्ले थाके झैं लाछिको सोह्रखुट्टे पाटीमा झुक्याएर बसेको रहेछ। अलि चिन्तित र गम्भीर मुद्रामा। उसले गाउँलेलाई बोलायो। सयांैको संख्यामा मान्छे जम्मा भएका छन वरपर। पानीको, जङ्गलको अनि जुद्ध शम्शेरको बारेमा सुनाउन थाल्यो।

तिमीहरुलाई थाहा छ? यो धारा र पानीको कथा त्यसै यो बस्तीको मान्छेले पाएको हो? त्यसै पानी खान पाएको हो? महाराज जुद्धसमशेर र श्रीनाथ साहुले गर्दा खान पाएको हो। अब मान्छे बढे। बस्ती बढ्यो अनि पानी अभाव हुन थाल्यो। वन पनि वरपरबाट मासिन शुरु भयो तिमिहरु नयाँ पुस्ताले पहल गर्नु पर्यो यो पानीले अब थेग्दैन। उसले जुद्धशम्शेरको कर्मा र श्रीनाथको पहल कह्यो।

काठमाडौंको टुँडिखेल मानिसहरुको भिड देशभरिका मानिसहरुको जमघट। श्री ३ महाराजको आगमनको प्रतीक्षामा छन् जनता। कालो पोशाक लगाएका पुलिस र भाई भारदारको उपस्थिति भइसकेको छ। घोडा र बग्गी बिस्तारै आउन थालेको छ। हल्ला धेरै छ।

लाम लागेको बिहान बिहानै । लोटामा पानी भर्दै खुवाउँदै थिए। कोही सानो–सानो नाग्लो पसलमा चिया पकाउँदै छन्। लाखामारी जेरि स्वारी, साखमाली, नुनको चिया हल्का ज्वानो हालेको जाडोको बिहानी पख। माटोको भाँडामा चिया खाँदै छन्। कोही पटुकाबाट झिक्दै चिउरा चपाउँदै छन्। अलि अलि थ्व (जाँड) पनि भद्रकाली तिरको भट्टिमा खान थालेका छन्।

श्री ३ महाराजको आगमनको सन्देश सुनाउदै धरररर…….धररर …………धम दमाहा बज्न थाल्यो। सावधान, सावधान, सावधान….. श्री ३ महाराज महाराज जुद्ध शमशेर कि जय। उभिएका सबैले एक स्वरमा भन्न थाले जय…… जय……जय …… महाराजकी जय। धेरै पटकको गुन्जन बल्ल रोकियो।

ठूलो स्वरले महाराजकी जय जय भन्दै एउटा पण्डितले बोल्यो। निरन्तर उसको आवाज गुन्जी रहेको छ। यत्तिकैमा महाराज जुद्ध शमशेरको बग्गी खत्रक खत्रक गर्दै आई रहेको छ। सन्नाटा छायो। अघिसम्म हल्ला गरिरहेकाहरु सबै मौन भए। यत्तिकैमा एउटा प्रश्न सोधियो ठूलो नगरा सगै उसको आवाज गुन्जिन थाल्यो।

महाराज श्री ३ सरकार टुँडिखेलमा सवारी हुँदैछ। सकल जनका प्रिय र प्रजापालक सरकारलाई स्वागत अभिनन्दन टक्र्याउँदै आजको जनचासो र जनताको दुख कष्ट बिसाउन हुकुम भए बमोजिम पालोपालो गरि बोल्ने। जवाफ टिपोट गर्नेलाई पछि भेट्ने।

महाराजको गाथमा कस्ट हुने र गर्ने प्रयत्न नगर्न र नगराउन सन्देश गरिन्छ। आदेश पालना सबै जनाबाट होस। अन्यथा सजाँयको भागी हुने छन्। दमाह रोकियो। पुलिसहरुको भिड बढ्न थाल्यो। उसले उसलाइ धकेल्ने उसले उसलाई तान्ने। भिड बढिरहेको छ।

यसै क्रममा महाराजको टुँडिखेलमा प्रबेश भयो । बाजागाजा चल्छन्। भाव विह्वल छन् कोही। सम्मानमा शिर झुकेको छ। जय जय कारको नारा गुन्जिएको छ। अभिबादनको क्रम सकिय पछि आसनमा घचक्क बसे र सलामी दिए सेना र प्रहरीले। हाँस्दै लाइनमा उभिएकालाई हेर्दै काने खुसी गर्दै छन् दायाँ बायाँकासँग।

यत्तिकैमा उर्दी पत्र पल्टाउँदै बोल्न थाले। प्रजा बत्सल सरकारको हजुरमा आफ्नो बिषय राख्न आलोपालो गरेर र महाराजबाट बकस भएको कुरा सुन्ने मात्रा। दोहोरो न बोल्ने। पहिला अगाडि दाम राखी दण्डवत गर्ने।

लाईनमा भएकाहरुलाई सिपाहीहरुले पालोपालो समीप ल्याउन आदेश गरिन्छ। सबैले पालोपालो आफ्ना कुरा राख्दै गए कुरा सुन्दै गए नजिकै खातापाता बोकेकाले सुन्दै र लेख्दै छन्। सन्नाटा छ मैदानमा।

१२ औं नम्बरको पालो आयो। आफूसँगै गएका आफ्नो चार दाजुभाइ लाम लागेका छन महाराज सामु। घर कहाँ हो साहु माहाजन को? अनुहार र लवाइ हेर्दा महाजन जस्तै लाग्यो?

धुलिखेल सरकार। सानो तिनो ब्यापार गर्छु सरकार।

ए……धुलिखेले साहुलाई के भो त्यस्तो? भनी सोध्नु भो। जनताले पानी खान पाएनन सरकार। हो ……र…..धुलिखेलमा त ठूलो वन छ। नजिकै त्यस्तो ठाउँमा नि पानीको अभाब भो र? डराउँदै दुई हात जोडी सरकार दु ख नभै हजुर कहाँ मैले विनती बिसाउने हिम्मत कहाँ गर्न सक्छु र ?

ल…….ल…. अरु कस्तो छ त। व्यापार राम्रो छ नि? ब्यापार गच्छे अनुसार भाई वनधुले गरेकै छ सरकार। देशाटनमा पुर्खाले गरेको कर्ममा महाराजको अहित चिताएको छैन वनधुहरुले। भुटान, सुखिम (सिक्किम) दार्जिलिङसम्मै छ हजुर। गाउँ बस्तीमा नुन, तेल, लताकपडा, घिउको काम थापिएको छ सरकार। सरसापट चलाउने भै राखे कै छन्।

अहँ…. अनि अरु के छ भन्नू? महाराजबाट बक्स भयो।

महाराजको हजुरमा पानीको समस्या बिसाउँछु। हामीलाइ बाँच्न दिनु पर्यो सरकार। पानीले दुख भयो ज्यान बचाई पाउँ। ११ सय घर धुरीले पानी खान पाइएन सरकार। आज सानो स्वर छ। सधै ठूलो स्वरमा बोल्ने मान्छे सायद सरकारको अगाडि भएर होला। उनी सानो स्वरले बोलेका थिए।

दुःख बिसाउँदै सुस्केरा हाले लामो श्रीनाथ बुढाले। फेरि सुस्केरा हाल्दै सरकारको अनुकम्पा र वनधुको कर्मले सबै ठिकै छन्। कम्पनी सरकारले कर बढाएको छ तल देशबाट सामान र नगद ल्याउँदा यसलाई पनि मिलाई दिनु पर्यो हजुर।

अलिकती डर, अलिकती आशा र अलिकती विश्वास लिएर उभिएको छन बुढा। पछडि भाइ वनधु दुई हात जोडिएर उभिएका छन्। तर मौन। पछाडिका को हुन् साहु? सरकार ! उनले फ्याट्टै भने भाइहरु।

ए….. आफ्नै भाइ कि गाउँले भाइ भन्दै पुलुक्क पछाडिका भाइहरुलाई महाराजबाट सोधनी भएकोमा मुस्कुराउँदै भन्छन्– सरकार आफ्नै परिवारका भाइहरु हुन्।

निगाहा होस प्रभु भन्दै आफ्नो दुख बिसाए। फेरि सानो स्वरले सरकार महिलालाई पानी लिनु र आउनुमै दिन सक्ने कुवा र पँधेरा टाढा छन्। इनार ढुंगे धाराले पुगेन। एक मुठी पानीले ज्यान जाने भो। प्राण मर्न भो। पानीको हाहाकार छ सरकार। धेरै केटा मान्छे बहिर ब्यापारमा।

हामी बुढा बुढी र महिला बच्चा बच्चिहरु मात्र छौं हजुर। यस्तो पुरानो शहर पानी विना उजाडिने भो र हामी बसाई सर्ने कि पानी खोज्ने हालत भयो। यतिकैमा महाराज हुकुम भो– ल ल म बडा हाकिमलाई प्रवन्ध गर्न जिम्मा दिन्छु। के रे साहुजीको नाम। महाराज श्री नाथ ब्यान्जु। ल ब्यान्चा साहु ढुक्क भएर जानु। अब म तिमीहरुलाई पानीको ब्यबस्था गरिदिन्छु। सरकारको आदेश गाउँ बस्तीमा तामेल गर्नु।

सरकारमा  बन्दाेबस्त गर्दै चारवटा रातो खसी भेटी चढाए सरकार फिर्ती भए आफ्नै घर। यसरी ७ महिनापछि खुसी छायो सरकारबाट धारा ७ र पानीको पाइपसहित आवस्यक प्रवनधको खबर आयो।

श्री ३ जुद्ध धार । श्री ३ महाराज जुद्ध शम्शेरले इङ्याण्डबाट बनाइ ल्याई दिएको धारा। अझै धुलिखेलमा सात स्थानमा छन्। एउटा उदाहरणीय प्रयास। ११ महिना पछि पानीको अभाब समाप्त भयो।

समयले धेरै राप ताप भोग्यो। युग बिस्तारै बदलिँदै गए। जनतामा चेतना बढ्दै गयो। राणा शासन अन्त्य भो, पञ्चायत आयो। बहुदल आयो। त्यही पानीले जीवन गुजारा गर्दैछौं। बस्तीको बिस्तार हुँदै गयो। मानिसको बसोबास बक्लिदै गयो। पानीको अभाब बढ्न थाल्यो।

दिनहुँ माथिल्लो टोल र तल्लो टोल झगडा हुन थाल्यो। कारण पानीको हुन्थ्यो। तल बस्ती लाछि मुख्य चोक चार वटा च्चोछे टोल, इटोल, वटोल र दुटोलको सगंम स्थल। सोह्रखुट्टे पाटीमा दिनहुँ गरमागरम बहस छलफल। टोल टोलको झगडा। माथिल्लो टोलमा पानी आएन भनेर हुल मान्छे आएर हरिसिद्धी स्थानको पानी आउने धारा घनले हानेर फुटउन आए।

तिमिहरुले मात्र खाने हामीले खानु पर्दैन? भन्दै धारा फुटाए। अम्बरे उक्साउने, इन्द्रे घनले हान्ने। जत्ति हाने नि फट्दैन । निक्कै बलियो रहेछ। गनि राखेको थिएँ १६ पटक हान्दा बल्ल आगलागी हुँदा पानी निकाल्ने ठाउँको घुमाउने ह्याण्डल भाँच्यो।

आसपास सबै तमासे झै उभिएर हेर्दैछन मानौ टोलमा कुनै बहादुर अन्त भएको छ। र इन्द्रे मात्र एउट पात्र हो बहादुर यस्तो भान भै रहेको छ। मानौ लाछी नामर्दहरुको चोक हो। कोही बोल्दैन आज। शहरको मुख्य स्थान होचो, वटोल र चोच्छे टोल, सबै भन्दा होचो ठाउँकोमा पानी आयो माथि आएन भन्ने बुझाईले फुटाउन खोजेका रहेछन्।

यत्तिकैमा गोफ्ले बुढोलाई राणा सरकारले दिए। श्रीनाथ ब्यान्जुले मिलाएर ब्यबस्था गरे। यही पानीले गर्दा मुग्लान र बसाई नसरी बस्न पाएका छन्। आज यसको कुन तरिकाले सबैलाइ मिलाएर खाने त्यो ब्यबस्था कसरी गर्ने भनेर छलफल गरेर टुङ्याउने कि यो धारा फुटाउने? पचास वर्ष भयो यो पानी ब्यबस्था भएको। के भएर पानी अभाब भो भनेर बुझ्नु छैन? आज तिमिहरु जस्तो नौ जवानले कि नयाँ ल्याउनु पर्यो कि यसको तरिका मिलाएर खाने कुरा गर्नुपर्यो। मुर्खताको पनि हद हुन्छ। हट यो फुटाउने काम नगर नत्र म यही लौरोले हानौला भन्दै अघि सर्यो।

बिस्तारै आसपासका तमासेहरु हो हो भन्दै कराउदै जाई लाग्न थाले। एउटा खानेपानीको समस्या हल गरु भन्नू छैन। पुर्खाले वनाएको धारा तोडफोड गर्ने के तमासा हो। सक्छौ भने नया पानीको खोज गरौं। मैले जिन्दगी बिताए पानी को लागि तर कोही नव जवानले समस्याको समाधान होइन बिबादको भारी बनाउँदै छ्न्। यस्तो पाराले हुन्न।

भोलि पञ्चायत बोलाउने यो सोह्रखुट्टे पाटीमा भन्दै जुर्मुरिदै कराए। एक्कै छिन पछि धाराको टुटी मान्छेको तानातानले झरी सकेको रहेछ पानीको फोहरा परपर सम्म बग्न थालेको छ। हल्ला खल्ला बढन थाल्यो। टुटी भाँचेको ठाउँमा बोराको टुक्रा कोच्न थाले। पानीको गति कम हुँदै गयो। मानिसहरु बिस्तारै घट्न थाले। रात पर्न लाग्दै छ। चिसो पनि बढि राखेको छ। सबै आफनो घर तिर गए।

बिहान सबै सोह्रखुट्टे पाटीमा जम्मा भएका छन्। सल्लाह गर्दै गर्दा अब नया ट्याङ्की बनाउने, स्थानीयले चन्दा उठाउने र कम्तिमा चार टोलमा ट्यान्की निर्माणको तयारी गर्ने सहमती गरे। नयाँ पानीको खोज र ब्यबस्थापन गर्ने पन्चायतको निर्णय सुनाए। समय प्रकारान्तले नयाँ पुष्ताले यसको कार्यभार लिने न्हँुछे साहुले सबै लाई बताए।

गोफ्ले मन मनै सोच्दै थिए झगडा हुँदै जाँदा समाधान को लागि पनि नयाँ पहलको सिलसिला हुँदो रहेछ। हिजो जे जसरी नराम्रो भए पनि आज राम्रो भयो। सहमति भएकोमा खुसी थिए गोफ्ले बुढा आज।

हरेक बादलमा चाँदिको घेरा हुन्छ भने झै धुलिखेलमा नया खानेपानीको पहल यहाँको समाजसेवीहरुको नयाँ प्रयत्न खोज्न थाले र क्रमश धुलिखेलमा जर्मनी सरकारले सहयोग गर्ने गरि धुलिखेल बिकास परियोजना सञ्चालन गर्ने अनि खानेपानीको लागि भुमिडाँडासँग पहल हुन थाल्यो

जर्मन पानीको कथा प्रारम्भ भयो। पहाडको बस्ती खोला नभएको र स्रोतको अन्य सम्भावना नभएकोले निरन्तर प्यास र प्यास मेटाउने जमर्कोमा लागिरहने धुलिखेल र यहाँका मानिसको सिलसिला चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *