कविता : मान्छे
हिजोको मात्र होइन
बर्ष, शताव्दी र युगलाई
आफ्ना पात्रोमा समाहित गर्ने मान्छे
बितेको कुरा स्मरणमा राखेर
भविष्यलाई हस्तान्तरण गर्ने मान्छे
हिजोको सम्झेर
भविष्यको सपना बुन्न सक्ने मान्छे …
घाम, जुन, ताराको चमक नापेर
सेकेन्ड, मिनेट, घन्टाका नियममा
सानो घडीभित्र समयलाई बाँधिदिने मान्छे …
स्मरणशक्तिलाई निखार्दै, तिखार्दै
धर्तीमा आफ्नो अस्तित्व रक्षाको
प्रमुख अस्त्र बनाएको मान्छे …
मौसम अनुसार नांगो शरीरमा
बस्त्र पहिरिएर अंग ढाक्ने मान्छे
हुरी, आँधी, बर्षा र घामबाट जोगिन
घर बनाउन जानेको मान्छे
कहिले जनावरबाट रक्षा गर्न
कहिले आफ्नै जातिबाट रक्षा गर्न
घरका ढोकामा ताला लगाउन सिकेको मान्छे …
सारा संसारलाई अध्ययन गरेर
रहस्य ओकलिदिने
अद्भूत क्षमता भएको मान्छे …
आफ्नै शरीरका हड्डीको संख्या
शरीरभित्रका मासुको प्रकार गन्न सक्ने
अंग भाँचिदा, च्यातिँदा सिलाउन जान्ने मान्छे
जनेन्द्रिय र ज्ञानेन्द्रियको गुणको व्याख्या गर्ने
मस्तिष्कको क्षमता र मुटुको चालको
गणना गर्ने मान्छे
मुटुलाई रक्तसञ्चारका लागि मात्रै होइन
प्रेम, हर्ष, आँशु र वेदनामा पनि धड्काउने मान्छे …
त्यही मुटुमा प्रेयसीलाई प्रवेश गराएर
कुटुकुटु काटिन रुचाउने मान्छे
अनि भित्रै पसेर मुटु छियाछिया पारेकी
निष्ठूरीको सम्झनामा
आँखाबाट आँशु बगाउने मान्छे …
शक्तिशाली बनेर विश्व थर्काएपनि
चन्द्रमा र मंगलमा पुगेर झण्डा फहराएपनि
प्रेयसीले दिएको चोटलाई सम्झँदै
सुस्केरा हाल्दै आकाशतर्फ फर्केर
ईश्वरको पुकारा गर्ने मान्छे …
Facebook Comment