विप्लव नेतृत्वका नेकपाले मंसिर ८ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने

डिसी नेपाल
५ मंसिर २०७५ १४:०७

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ। त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने घोषणा गरेको छ।

बुधबार रिपोर्टर्स क्लबमा आगामी मंसिर ८ गते काठमाडौं आयोजना गरिने जनसभाका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य चीरन पुनले यस्तो बताएका हुन्।

‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मुल नाराकासाथ आफूहरुले उक्त जनसभाको आह्वान गरेको पुनले जानकारी दिए।

उनले भने, ‘वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको छ, जनताले दुःख पाएका छन्, सबैभन्दा बढी जनताकोबीचमा रहेको हाम्रो पार्टीलाई न्यायको फैसला गर्न भनेका छन्, त्यसैअनुरुप हामीले मंसिर ८ गते पार्टी पुनःगठन दिवसको अवसरमा जनताका आवाजबारे हाम्रो पार्टीका प्रवक्ताले सम्बोधन गर्नुहुनेछ।’ जनसभालाई पार्टी प्रवक्ता प्रकाण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

पार्टीका महासचिव विप्लवलाई लुकाउनुको कारण के हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा पुनले भने,‘पार्टीको निर्णयअनुसार नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेलाको सम्बोधन गर्नुहुनेछ, उहाँ लुक्नुभएको पनि होईन, लुकाएका पनि होईनौं, आजको दिनमा सबैभन्दा धेरै जनता भएको पार्टी हाम्रो पार्टी हो, विशेष कारणबश उहाँ आउनु हुनेछैन्।’

आगामी मंसिर ८ गते काठमाडौंको शान्तिवाटिकामा नेकपा विप्लव माओवादीको आमसभामा मित्र पार्टीका रुपमा बैद्य माओवादीलगायत केही शीर्ष नेतालाईमात्रै निम्तो दिईएको जनसभा प्रचारप्रासर उपसमितिले जनाएको छ।

विप्लव माओवादीले (नेकपा) र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ। जनसभामा देशैभरिबाट हजारौंको संख्यामा जनता काठमाडौं आउने आयोजक समितिको विश्वास छ। पुनले सरकारको नेतृत्व गरिरहेको (नेकपा) र संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई उक्त भेलाको लागि आफूहरुले निम्तो नदिएको बताए।

कालिकोटबाट धेरै जनताको सहभागिता रहने पनि पुनले जनाए। उनले भने, ‘प्रवक्तामाथि सरकारले जुन प्रकारको षड्यन्त्र रच्यो र गिरफ्तार गर्यो, त्यसबाट कालिकोटवासी निक्कै चुर बनेका छन्, प्रवक्ताको रिहाइको लागि धेरै संघर्ष पनि गरेका छन्, कालिकोटका जनताले त यतिसम्म पनि भन्नुभएको छ, भए गाडीमा चढेर आउँछौं, नभए हिँडेर आउँछौं, यतिसम्म भन्ने जनता हाम्रो साथमा छन्।’

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुणराज लोहनी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायतको उपस्थी रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *