स्तरोन्नति सकेर सेनाले बुझायो करिडोर

डिसी नेपाल
२६ असार २०७८ १३:५५

बलेवा। दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो। यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४.५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए।

बागलुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो। नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो। यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ।

यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयर नवराज बाँस्तोलालाई हस्तान्तरण गरे। रिडी­मालढुङ्गा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा–बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भैसकेको थियो।

एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नति गरेको हो। बागलुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेवारी लिएर काम गरेको थियो। आव २०७४÷७५ मा ट्रयाक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतिको लागि २०७५ सालमा जिम्मा लिएको थियो। सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरेको सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *