वैशाखयता विपद्का घटनामा १३२ जनाको मृत्यु, ५४ करोडभन्दा धेरैको क्षति

डिसी नेपाल
२६ असार २०७८ १६:४७

काठमाडौं। मनसुन शुरु भएसंँगै देशका विभिन्न भागमा बाढी पहिरोका घटनाहरु भइरहेका छन्। यो वर्ष शुरु भएयता हालसम्म विपद्का १ हजार १२४ घटना भएको राष्ट्रिय विपद् न्युनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।

वैशाख १ गतेदेखि असार २६ गते दिउँसोसम्म देशभर भएका १ हजार १२४ विपद्का घटनामा परी १३२ जनाको मृत्यु भएको छ। यो अवधिमा सबैभन्दा धेरै पहिरोका घटना भएका छन्। प्राधिकरणका अनुसार वैशाख यता हालसम्म पहिरोका घटना १५६ वटा भएका छन्। यी घटनामा २८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्। पहिरोमा परी ४५ जना घाइतेसमेत भएका छन्। पहिरोले ६९ लाख ४१ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै बाढीका ७२ घटनामा परी २७ जनाको मृत्यु भएको छ। बाढीमा परि २८ जना हालसम्म बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। बाढीका कारण ५ करोड ५३ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै अविरल वर्षाका १२७ घटनामा ६ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण ४ करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै चट्यांगका १२९ घटनामा परि ३४ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। चट्यांगबाट यो अवधिमा १ करोड ५६ लाख ३४ हजार ८३० रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै आगलागीका ४७३ घटनामा ११ जनाको मृत्यु भएको छ। आगलागीका कारण ४१ करोड ५९ लाख २९ हजार ८६० रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै जंगली जनावर आक्रमणका ६५ घटना भएका छन्। ती घटनामा परि हालसम्म १४ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *