स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।
चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४सै घण्टा प्रवाह हुने गरेको छ । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिका लागि सबै कर्मचारीको साथ सहयोग रहेको भण्डारीले बताए ।
सिनियर अनमी मेनुका देवकोटाले दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताइन् । गर्भपतन गराउने आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने गरिएको देवकोटाले जानकारी दिइन् ।
अघिल्लो वर्ष ८४ सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यस वर्ष ७८ ले सेवा लिएका छन् । यहाँ एक दिनमा १५ देखि २५ को हाराहारीमा बिरामी सेवा लिन आउँछन् । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी छन् । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ कर्मचारी छन् ।
Facebook Comment