रातो हाब्रेको छाला र भालुको पित्तसहित पक्राउ

राँझा । बाँकेमा प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको बसपार्कस्थित राप्ती गेष्ट हाउसको १० नम्बर कोठाबाट शनिबार राति रेडपाण्डाको छाला एक थान र भालुको पित्त चार थान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार दाङका भक्तबहादुर पुन, केशव पुन र रोविन बुढाको साथबाट रेडपाण्डाको छाला र भालुको पित्त बरामद गरेको हो । पक्राउ परेका व्यक्तिको साथमा रहेको कालो झोलाभित्र रेडपाण्डाको छाला र भालुको पित्त फेला परेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्ति, रेडपाण्डाको छाला र भालुको पित्तलाई आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पक्राउ परेका व्यक्तिलाई रु पाँचदेखि १० लाखसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
Facebook Comment